झापा। देशकै सबैभन्दा होचो भू-भाग झापाको कचनकवलबाट श्रम संस्कृति पार्टीले आफ्नो पार्टी विस्तार अभियान औपचारिक रूपमा अघि बढाएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कचनकवलमा आयोजित कार्यक्रममा सहभागी कार्यकर्ताहरूले पार्टीको चुनाव चिह्न र “म श्रमदाता हुँ” भन्ने नारा अंकित टिसर्ट लगाएका थिए। श्रमलाई राजनीतिक संस्कृति र सामाजिक रूपान्तरणसँग जोड्ने पार्टीको अवधारणालाई उक्त नारामार्फत सार्वजनिक रूपमा प्रस्तुत गरिएको छ।

कार्यक्रमस्थलको ब्यानरमा “कचनकवलदेखि संसारको सर्वोच्च सगरमाथासम्म हातेमालो” भन्ने सन्देश लेखिएको थियो। नेपालको होचो भू-भागबाट सुरु भएको यस अभियानलाई देशभरका विभिन्न भूगोलसम्म संगठन विस्तार गर्ने राजनीतिक प्रयासका रूपमा लिइएको छ।
श्रम संस्कृति पार्टीले सांगठनिक विस्तारसँगै श्रमको सम्मान, उत्पादनमुखी राजनीति र नागरिक सहभागितालाई आफ्नो मुख्य एजेण्डा बनाएको छ। सीमावर्ती तथा ग्रामीण भूगोलबाट अभियानको थालनी गरेर पार्टीले पूर्वी नेपालमा संगठन निर्माणलाई प्राथमिकता दिएको संकेत गरेको छ।
कचनकवलबाट सुरु भएको यस अभियानले लिएको ‘श्रम’लाई राजनीतिक व्यवहार र संगठनात्मक संस्कृतिमा परिणत गर्ने सन्देश आगामी दिनमा कत्तिको प्रभावकारी हुन्छ भन्ने विषयलाई भने चासोका साथ हेरिएको छ।
