काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले जेन-जी (Gen-Z) उमेर समूहका सांसदहरूसँग छलफल गर्दै आफ्नो पुस्ताका लागि रोजगारीका अवसर सिर्जना गर्न र आत्मनिर्भरताको दिशामा नेतृत्व लिन आह्वान गरेका छन्।

प्रधानमन्त्री सचिवालयका अनुसार शाहले सांसदहरूलाई आधारभूत जीविकोपार्जनका समस्या समाधानमा मात्र सीमित नरही आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर भएर नेतृत्व गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्रीले यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धान गर्न, सूचना प्रविधिको अधिकतम प्रयोग गर्न, समस्या समाधानमा केन्द्रित दृष्टिकोण अपनाउन र पुराना तथा अव्यावहारिक सोच त्याग्न सुझाव दिएका छन्।
उनले सांसदहरूलाई राजनीतिलाई पेसा नबनाउनेसमेत आग्रह गरे। सांसदहरूले आम्दानीको स्वतन्त्र स्रोत स्थापित गर्नुपर्ने र दीर्घकालमा आत्मनिर्भर बनेर आफ्नो पुस्ताका लागि प्रेरणाको स्रोत बन्नुपर्ने शाहको भनाइ थियो।
सचिवालयका अनुसार बैठकमा सहभागी सांसदहरूले प्रधानमन्त्रीको सुझावलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिएका छन्। उनीहरूले आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउनका साथै देशभित्रै रोजगारी र अवसर सिर्जना गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन्।
