हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५० मिनेट अगाडि

झापामा बाह्रदशी गाउँपालिकाको स्पष्टीकरण: ‘कुकुर बन्ध्याकरणमा भ्रष्टाचार भएको छैन, कर्मचारी नियुक्ति पारदर्शी’

झापा ,५ असोज । झापाको बाह्रदशी गाउँपालिकाले सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रममा अनियमितता भएको र करार कर्मचारी नियुक्तिमा नातावाद हावी भएको भन्दै प्रसारित समाचार तथा सामाजिक सञ्जालका टिप्पणीहरूको खण्डन गरेको छ। गाउँपालिकाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै कपोलकल्पित र भ्रामक सूचनाका पछाडि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Advertisement

​गाउँपालिकाका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाई र प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा चालू आर्थिक वर्षमा सञ्चालित ‘सामुदायिक कुकुर बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप कार्यक्रम’ मा २५ लाख रुपैयाँ खर्च भएको भन्ने दाबी पूर्णतः निराधार रहेको उल्लेख छ। गाउँपालिकाका अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि कुल ४ लाख ९८ हजार रुपैयाँ मात्र खर्च भएको र त्यसको आधिकारिक बिल-भरपाई तथा गोश्वारा भौचर (नं. ४८७) लेखा प्रणालीमा सुरक्षित रहेको छ।

Advertisement

​त्यस्तै, ९० जनाभन्दा बढी करार कर्मचारीको नियुक्तिमा नातावाद हावी भएको आरोपबारे स्पष्ट पार्दै गाउँपालिकाले सम्पूर्ण नियुक्तिहरू मेरिट सिस्टम (योग्यता प्रणाली), खुला तथा पारदर्शी प्रतिस्पर्धाबाट भएको जनाएको छ। परीक्षा प्रणालीलाई निष्पक्ष बनाउन लोक सेवा आयोगकै ढाँचामा कोडिङ र डिकोडिङ प्रणाली अपनाइएको र बाह्य विषय विज्ञबाट उत्तरपुस्तिका परीक्षण गराइएको विज्ञप्तिमा दाबी गरिएको छ। साथै, परीक्षार्थीसँग नाता सम्बन्ध जोडिएका जनप्रतिनिधि वा कर्मचारीलाई छनोट प्रक्रियाबाट पूर्णतः अलग राखिएको गाउँपालिकाको भनाइ छ।

​सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापक (प्रअ) र शिक्षक छनोटसमेत बाह्य विषय विज्ञहरूको प्रत्यक्ष संलग्नतामा पारदर्शी रूपमा गरिएको विज्ञप्तिमा उल्लेख छ।

​बिना आधार र प्रमाण स्थानीय सरकार तथा जनप्रतिनिधिको मानमर्दन हुने गरी भ्रामक सूचना फैलाउने कार्य निरन्तर रहे विद्युतीय कारोबार ऐन, २०६३ लगायतका प्रचलित कानुनबमोजिम कडा कानुनी उपचार खोजिने चेतावनीसमेत गाउँपालिकाले दिएको छ। 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)