हल्दीबारी । नेपाली कांग्रेस हल्दीबारी गाउँ समितिको सभापति पदमा होम चुडालले उम्मेदवारी घोषणा गरेका छन्। आज सम्पन्न हुने गाउँसभाबाट गाउँ समिति सभापति चयन हुने भएपछि चुडालले सभापति पदमा आफ्नो उम्मेदवारी दिने घोषणा गरेका हुन्।

विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा सक्रिय हुँदै आएका चुडालले पार्टी संगठन निर्माण, कार्यकर्ता परिचालन तथा स्थानीयस्तरमा पार्टीको गतिविधिमा निरन्तर भूमिका निर्वाह गर्दै आएका छन्। उनी यसअघि जनप्रतिनिधिका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन्।

हाल नेपाली कांग्रेस हल्दीबारी गाउँ समितिका उपसभापति रहेका चुडालले पार्टीलाई थप संगठित, सुदृढ र क्रियाशील बनाउने उद्देश्यसहित सभापति पदमा उम्मेदवारी दिन लागेको बताएका छन्।
चुडालको उम्मेदवारी घोषणासँगै हल्दीबारी कांग्रेसको गाउँ सभापति चयनलाई चासोका साथ हेरिएको छ। विद्यार्थी राजनीतिदेखि पार्टी संगठनमा सक्रिय रहेका र जनप्रतिनिधिका रूपमा समेत अनुभव हासिल गरेका चुडालको उम्मेदवारीले गाउँ समितिको नेतृत्व चयनमा नयाँ बहससमेत सुरु भएको छ।
आज हुने गाउँसभाले सभापतिसहित गाउँ समितिको नेतृत्व चयन गर्नेछ। पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका बीच नेतृत्वका आकांक्षीहरूबीच सहमति वा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुने प्रक्रिया अघि बढ्नेछ।
