झापा । हुन्डाईको नयाँ साना आकारको खेलोपयोगी गाडी (एसयूभी) ‘भेन्यु’ बिर्तामोडमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।


बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईँको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका बिच उक्त नयाँ गाडी सार्वजनिक गरिएको हो । कार्यक्रमको सहजीकरण बिर्तामोडस्थित हुन्डाई बिक्री कक्षका व्यवस्थापक याम विमलीले गरेका थिए ।

नयाँ भेन्यु आकर्षक ढाँचा, आधुनिक प्रविधि, आरामदायी भित्री बनावट र सुरक्षा सुविधासहित नेपाली बजारमा भित्र्याइएको कम्पनीले जनाएको छ । यसमा दुईवटा सिङ आकारका एलइडी बत्ती, तेर्सो रेखाकार पछाडिको बत्ती, गाढा क्रोमको अघिल्लो जाली तथा विशिष्ट बुट्टाजस्ता बाहिरी बनावटका विशेषता छन् ।

गाडीको भित्री भागमा १०.२५ इन्चको सूचना तथा मनोरञ्जन प्रणाली, ताररहित प्रणालीबाट मोबाइल जोड्ने सुविधा, डिजिटल यन्त्रपाटी र बटनबाटै खुल्ने तथा ढल्किने छाना (सनरूफ) लगायतका सुविधा उपलब्ध छन् ।
क्षमताका हिसाबले भेन्युमा १.२ लिटर र १.० लिटर टर्बो इन्धन (पेट्रोल) इन्जिनको विकल्प दिइएको छ । सुरक्षाका लागि ६ वटा हावाका थैला (एयरब्याग), आकस्मिक ब्रेक प्रणाली, गाडी सन्तुलन नियन्त्रण प्रविधि तथा उकालोमा गाडी पछाडि नसर्ने प्रविधिसमेत समावेश गरिएको छ ।

नेपाली बजारमा यस नयाँ भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो गाडी एचएक्स २, एचएक्स ५ प्लस र एचएक्स ५ डिसीटी गरी तीन प्रकारका मोडलमा उपलब्ध रहेको जनाइएको छ ।
झापाको बिर्तामोडस्थित सोरुममा उपलब्ध यो गाडी ग्राहकले प्रत्यक्ष अवलोकन तथा परीक्षण यात्रामार्फत अनुभव गर्न सक्ने आयोजकले जनाएका छन् । सार्वजनिक कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, जनप्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति थियो ।
