हल्दिबारी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हल्दिबारी गाउँपालिका गाउँ समितिको नेतृत्व चयनमा प्रतिस्पर्धा रोचक बनेको छ। गाउँ सभापति पदमा वर्तमान सभापतिसहित तीन जनाले उम्मेदवारी दर्ता गराएपछि नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको हो।
सभापति पदमा वर्तमान सभापति गंगाप्रसाद प्रसाई, हालका उपसभापतिद्वय खड्ग लावती र होमप्रसाद चुँडालले उम्मेदवारी दिएका छन्।

तीनै जनाले उम्मेदवारी दर्ता गरेपछि हल्दिबारी कांग्रेसको आगामी नेतृत्व कसको हातमा पुग्छ भन्ने विषयमा स्थानीय कांग्रेस वृत्तमा चासो बढेको छ। उम्मेदवारी दर्तापछि नेताहरू तथा कार्यकर्ताबीच सहमतिको प्रयाससमेत जारी रहेको बताइएको छ।

सभापति पदसँगै सचिव र पुरुष उपसभापति पदमा पनि प्रतिस्पर्धा हुने भएको छ। सचिव पदमा धर्मप्रसाद काफ्ले ‘बाबा’ र गंगाप्रसाद उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन्।त्यस्तै पुरुष उपसभापति पदका लागि टेमलाल राजवंशी र ध्रुवकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ।
महिला उपसभापति र सहसचिव पदमा भने एक–एक जनाको मात्रै उम्मेदवारी परेको छ। निर्वाचन अधिकृत डम्बर वनका अनुसार महिला उपसभापतिमा प्रतिमा भुजेल र सहसचिवमा धनकुमारी गुरुङको मात्रै उम्मेदवारी परेकाले दुवै जना निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै कार्यसमिति सदस्यतर्फ शर्मिला लामिछाने, डिल्लीराम पोखरेल, निर्मला अधिकारी खनाल र दाताराम खतिवडाको मात्रै उम्मेदवारी परेको छ। उनीहरू पनि निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत वनले जानकारी दिए।
निर्वाचन अधिकृत वनका अनुसार प्रतिस्पर्धामा रहेका पदहरूमा सहमति जुटाउन छलफलका लागि समय दिइएको छ। भोलि बिहानसम्म सहमति कायम हुन नसके निर्वाचन प्रक्रिया अघि बढाइने निर्वाचन समितिको तयारी छ।
वनका अनुसार भोलि दिउँसो १२ बजेदेखि २ बजेसम्म मतदान गर्ने कार्यक्रम तय गरिएको छ। आपसी छलफलबाट सहमति जुटे मतदान आवश्यक नपर्ने र सहमति हुन नसके निर्धारित समयमै निर्वाचन गरिने उनले बताए।
सभापति पदमा तीन, सचिवमा दुई र पुरुष उपसभापतिमा दुई जनाको उम्मेदवारी परेपछि हल्दिबारी कांग्रेसको गाउँ अधिवेशनमा नेतृत्व चयन मुख्य चासोको विषय बनेको छ। अन्तिम समयसम्म सहमतिको प्रयास सफल हुन्छ वा प्रतिस्पर्धामा रहेका पदमा मतदान हुन्छ भन्ने टुंगो भने भोलि बिहानसम्म लाग्नेछ।
