झापा । हिमाली भेगका बासिन्दाको आम्दानीको प्रमुख स्रोत मानिने ‘हिमालयन भियाग्रा’ अर्थात् यार्सागुम्बाको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो ३० लाख रुपैयाँसम्म पुगे पनि स्थानीय संकलकले भने यसको उचित मूल्य पाउन सकेका छैनन्। ठूलो जोखिम र लगानीका साथ हिमाली पाटन पुगेका संकलकहरू बजारमा व्यापारी नआएपछि सस्तो मूल्यमै यार्सागुम्बा बेच्न बाध्य भएका छन्।

मुगुम कर्मारोङ गाउँपालिकाका पाटनहरूमा यार्सागुम्बा संकलनका लागि पुगेका सर्वसाधारण यसपालि निराश भएर फर्किएका छन्। संकलनका लागि चाहिने बन्दोबस्तीका सामान र अन्य उपकरणमा करिब ६० हजार रुपैयाँ खर्च गरेर पाटन पुगेका संकलकहरूले सिजनभरमा मुस्किलले १ लाख २० हजार रुपैयाँसम्म मात्र कमाउन सकेका छन्। ज्यान जोखिममा राखेर संकलन गरिएको यार्सागुम्बाले लागत अनुसारको मूल्य नपाएपछि स्थानीय युवाहरू वैकल्पिक रोजगारीका लागि भारततर्फ पलायन हुन थालेका छन्।

नेपालमा संकलन हुने कुल यार्सागुम्बाको करिब ९० प्रतिशत हिस्सा चीनमा निर्यात हुने गर्छ। तर, हालका दिनहरूमा चिनियाँ व्यापारीहरू नेपाली बजारमा नआउँदा र चीनभित्रै पनि संकलन तीव्र पारिएकाले नेपाली यार्सागुम्बाको माग घटेको स्थानीय व्यापारीहरू बताउँछन्। प्रमुख खरिदकर्ता नै नआएपछि नेपाली व्यापारीहरूले पनि संकलकबाट यार्सागुम्बा किन्न छाडेका छन्।
माग घट्नुका साथै जलवायु परिवर्तनका कारण यार्सागुम्बाको गुणस्तर खस्किनु अर्को मुख्य कारण बनेको छ। समयमा हिउँ नपर्नु र तापक्रम वृद्धिका कारण पाटनहरूमा पूर्ण रूपमा नहुर्किएका र अपूर्ण यार्सागुम्बा मात्र भेटिने गरेका छन्। गुणस्तर कमजोर भएकै कारण संकलकहरूले उचित मूल्य पाउन सकेका छैनन्।
गत वर्ष डोल्पामा प्रतिकिलो २० देखि २४ लाख रुपैयाँ र मुगुमा १८ लाख रुपैयाँसम्ममा यार्सागुम्बा बिक्री भएको थियो। यस वर्ष बजार मूल्य प्रतिकिलो ३० लाख रुपैयाँसम्म पुग्ने अनुमान गरिए पनि बिक्री भने ठप्प प्रायः छ।
व्यापार सुस्ताएपछि सरकारी राजस्व र छोडपुर्जी (परमिट) जारी हुने क्रममा पनि भारी गिरावट आएको छ। डिभिजन वन कार्यालय मुगुले यस वर्ष हालसम्म जम्मा १० किलोग्राम यार्सागुम्बाको मात्र छोडपुर्जी जारी गरेको छ। जबकि गत वर्ष सोही कार्यालयले २२ किलोग्राम र रारा राष्ट्रिय निकुञ्जले ३३ किलोग्रामको छोडपुर्जी जारी गरेका थिए।
मुगुम कर्मारोङ गाउँपालिकाका कोइकी, ठूलो कोइकी, रिमार र टाँके लगायतका पाटनहरूबाट यस वर्ष करिब ४ हजार २ सय संकलकहरूले यार्सागुम्बा संकलन गरेका थिए। यसबाट गाउँपालिकाले २८ लाख रुपैयाँ राजस्व संकलन गरे पनि संकलक र व्यापारी भने संकटमा परेका छन्।
