झापा (हल्दिबारी) : हल्दिबारीस्थित शुभप्रभात कृषि सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/०८३ को समीक्षा तथा आगामी कार्ययोजना तय गर्दै साधारणसभा हिजो सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष लालबहादुर कन्दङ्वाको अध्यक्षतामा आयोजित साधारणसभामा हल्दिबारी गाउँपालिका–३ का वडाध्यक्ष विष्णुप्रसाद ओली प्रमुख अतिथि थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओलीले सहकारीले स्थानीयस्तरमा उद्यमशीलता र बचत गर्ने बानीको विकासमा खेलेको भूमिकाको प्रशंसा गरे।

सहकारीका सचिव अर्जुन गिरीले सञ्चालन गरेको कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ को आय-व्यय विवरण प्रस्तुत गरिएको थियो। प्रस्तुत प्रतिवेदनअनुसार संस्थाको कुल कारोबार (आय-व्यय) रु. १० करोड ८२ लाखभन्दा बढी पुगेको छ। सहकारीले सेयर, बचत सङ्कलन, ऋण असुली र ब्याज प्राप्तिलाई आम्दानीको मुख्य स्रोत बनाएको छ भने सेयर तथा बचत फिर्ता, ऋण लगानी, सञ्चालन खर्च र रासायनिक मल खरिद तथा ढुवानीमा खर्च गरेको जनाएको छ।
साधारणसभाका अवसरमा विभिन्न विधाका उत्कृष्ट सदस्यहरूलाई सम्मानित गरियो। सम्मानित हुनेहरूमा ज्येष्ठ सदस्यतर्फ मानबहादुर तेयुङ र मनमाया भुजेल, उत्कृष्ट ऋणीतर्फ विनोदकुमार मिश्र, उत्कृष्ट बचतकर्तातर्फ विनोदप्रसाद भण्डारी र बाल बचतकर्तातर्फ माहिङ्मा खेवा रहेका छन्।
कार्यक्रममा हल्दिबारी सहकारी समन्वय समितिकी संयोजक देवी ओली, कल्याण सहकारीका अध्यक्ष बन्डा मेचे, रणकाली सामुदायिक वनका अध्यक्ष धनबहादुर सावा, सुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरका अध्यक्ष गोविन्द बोहोरा तथा रामेश्वर आधारभूत विद्यालयकी प्रधानाध्यापक मेनुका शर्मा दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले सहकारीलाई आगामी दिनमा थप पारदर्शी, उत्तरदायी र उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित बनाउनुपर्नेमा जोड दिए।
