झापा , ९ असोज । नेपाल र नामिबियाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध विस्तार भई विश्वका १८७ देशमा पुगेको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा अमेरिकाको न्यूयोर्कमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नामिबियाकी अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा असिपाला मुसावीले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

हस्ताक्षर समारोहअघि भएको भेटवार्तामा दुवै देशका मन्त्रीहरूबीच पारस्परिक हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद्का कारण भएको मानवीय तथा भौतिक क्षतिबारे जानकारी गराएका थिए।
भेटमा दुवै मन्त्रीले नेपाल र नामिबियाबीच द्विपक्षीय सहयोग विस्तारका नयाँ क्षेत्रहरूको खोजी गर्दै दुई देश र नागरिकको साझा प्रगति एवं समृद्धिका लागि सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
