झापा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर ३ बाट हल्दीबारी गाउँपालिकाका नितिशकुमार शाह र लालबहादुर कन्दङमासहित चार जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्।

हल्दीबारी गाउँपालिका–४ निवासी शाह मधेसी समानुपातिक कोटाबाट र हल्दीबारी–३ का कन्दङमा अपाङ्गता क्लस्टरतर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका हुन्।

यसैगरी कचनकवलका ग्याँस अजमर मिया मुस्लिमतर्फ र भद्रपुर नगरपालिकाका अजय साहेवाला मधेसी (खुला) तर्फबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्।
सर्वसम्मत निर्वाचित शाह, कन्दङमा, मिया र सायवालाले कांग्रेसको आगामी १५औँ महाधिवेशनमा झापा क्षेत्र नम्बर ३ को प्रतिनिधित्व गर्नेछन्। स्थानीय तहदेखि नै पार्टी संगठनमा निरन्तर क्रियाशील रहँदै आएका यी नेताहरूको सर्वसम्मत चयनलाई क्षेत्रभित्र समावेशी तथा सन्तुलित प्रतिनिधित्वको सकारात्मक सन्देशका रूपमा लिइएको छ।
