हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

झापामा ‘लागूऔषध दुर्व्यसन न्यूनीकरणमा विद्यार्थीको भूमिका’ विषयक सचेतना कार्यक्रम सम्पन्न

बिर्तामोड। बिर्तामोड–७ स्थित बेल्स मोडल स्कुलमा ‘लागूऔषध दुर्व्यसन न्यूनीकरणमा विद्यार्थीको भूमिका’ विषयक एकदिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ। चेतना नेपालको आयोजना तथा बेल्स मोडल स्कुलको समन्वयमा असोज १२ गते उक्त कार्यक्रम सम्पन्न भएको हो।

Advertisement

​बाल क्लबका अध्यक्ष गौरव बिमलीको अध्यक्षता तथा विद्यालयका प्रिन्सिपल ताराकुमार प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कक्षा ९ देखि १२ सम्मका दुई सयभन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता थियो।

Advertisement

​कार्यक्रमका प्रमुख प्रशिक्षक एवं चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओलीले सहजीकरण गर्दै सूर्तीजन्य, मदिराजन्य पदार्थ तथा कडा खालका लागूऔषध (नार्कोटिक्स) ले मानव जीवनमा पार्ने असर, क्षति र नकारात्मक प्रभावबारे विद्यार्थीहरूलाई प्रशिक्षित गराएका थिए।

​कार्यक्रमकै अवसरमा बेल्स मोडल स्कुलले चेतना नेपालले सुरु गरेको दुर्व्यसन न्यूनीकरण अभियानप्रति ऐक्यबद्धता जनाउँदै आफूलाई उक्त अभियानमा आबद्ध गराएको छ। विद्यालय तहमा दुर्व्यसन न्यूनीकरणका विविध गतिविधि सञ्चालन गर्न गौरव बिमलीको अध्यक्षतामा १७ सदस्यीय ‘बेल्स मोडल चेतना क्लब’ समेत गठन गरिएको छ।

​गठित समितिको उपाध्यक्षमा गरिमा तामाङ, सचिवमा जेसिका संग्रौला, सहसचिवमा अमित राजवंशी र कोषाध्यक्षमा शिवा प्रसाईं रहेका छन्। त्यस्तै सदस्यहरूमा आदित्य खरेल, कौस्तुप पाठक, प्रकृति तिवारी, दिनिज प्रसाईं, निशान्त चौधरी, सारिका प्रसाईं, सम्पदा दाहाल, जेनिसा दाहाल, नुरी खातुन, नवीना सेढाईं, आराधना ओझा र रोशन ओडारी रहेका छन्। समितिको संरक्षक सदस्यमा शिक्षक केशव नेपाल चयन भएका छन्।

​पहिलो चरणमा झापाका ४० वटा विद्यालय छनोट गरी दुर्व्यसन न्यूनीकरणसम्बन्धी गतिविधि सञ्चालन गर्ने र विद्यालयहरूलाई ‘दुर्व्यसनमुक्त स्कुल’ घोषणा गर्ने लक्ष्यअनुसार चेतना क्लब गठन गरिएको संस्थाका कोषाध्यक्ष देवीभक्त आचार्यले जानकारी दिए।

​कार्यक्रमका प्रमुख अतिथि एवं प्रिन्सिपल ताराकुमार प्रसाईंले चेतना नेपालसँगको सहकार्यमा यस्ता सचेतनामूलक कार्यक्रम गर्न पाउनु अवसर भएको बताए। विद्यालय तहमा गरिने यस्ता गतिविधिले विद्यार्थीहरूलाई जिम्मेवार नागरिक बन्न प्रेरणा दिने र दुर्व्यसन न्यूनीकरणमा कोसेढुंगा साबित हुने उनले विश्वास व्यक्त गरे।

​सभाध्यक्ष गौरव बिमलीले सचेतना कार्यक्रममार्फत लागूऔषधका असर र परिणामबारे समयमै जानकारी पाएकोमा खुसी व्यक्त गरे। उनले यस्ता कार्यक्रम बेल्स मोडल स्कुलमा मात्र सीमित नराखी हरेक विद्यालयमा पुर्‍याउन र चेतना क्लब गठन गर्न आयोजक संस्थालाई आग्रह गरे।

​कार्यक्रममा चेतना नेपालका कोषाध्यक्ष देवीभक्त आचार्य, सहायक प्रिन्सिपल देवान ढुंगाना, शिक्षकहरू निकेश बराल, गौतम गहतराज, विवेक लामिछाने, महेश अधिकारी, लीलाप्रसाद चौधरी र अरबिन ठाकुरलगायतको आतिथ्य थियो।

​सहायक प्रिन्सिपल देवान ढुंगानाले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक केशव नेपालले गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)