झापा । दुवै मिर्गौला फेल भई जीवन र मृत्युको दोसाधमा छटपटाइरहेका झापा हल्दीबारीका १५ वर्षीय बालक नवीन मेचेको उपचारका लागि हालसम्म १ लाख ५३ हजार २१० रुपैयाँ आर्थिक सहयोग जुटेको छ।

अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारण बालकको निरन्तर डायलासिस तथा थप जटिल उपचारमा आर्थिक सङ्कट उत्पन्न भएपछि अनलाइन सञ्चारमाध्यम ‘हल्दीबारी डट कम’ मार्फत सहयोगको याचना गरिएको थियो। समाचार सार्वजनिक भएसँगै नेपालभित्रका मनकारी दाताहरू तथा वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरू सहयोगका लागि अघि बढेका हुन्।

यसैक्रममा वैदेशिक रोजगारीमा रहेका अनिल मेचे र विजय मेचेको विशेष समन्वयमा ‘हल्दीबारी डट कम’ को बैङ्क खातामा रकम सङ्कलन भएको थियो। सोही खातामा प्राप्त पछिल्लो १ लाख १७ हजार ७१० रुपैयाँ मंगलबार पीडित बालकका मातापिता कार्यरत स्थानमै पुगेर हस्तान्तरण गरिएको छ।
हल्दीबारी डट कमका सल्लाहकार कृष्णप्रसाद प्रसाईं, कामाक्ष देवी टी प्रालीका सञ्चालक शुक्र दाहाल, समाजसेवी प्रकाश उप्रेती तथा सन्तोष मेचे लगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो। यसअघि पनि प्रारम्भिक चरणमा सङ्कलित ३५ हजार ५०० रुपैयाँ परिवारलाई हस्तान्तरण गरिसकिएको थियो।
यसका साथै सञ्चारमाध्यमको खातामा बाहेक बिरामीका काकाको बैङ्क खातामा समेत सोझै केही सहयोग रकम प्राप्त भएको नवीनकी आमाले जानकारी दिएकी छन्।
मिर्गौला प्रत्यारोपण तथा निरन्तरको उपचार खर्चिलो हुने र परिवारको आयस्रोत अत्यन्तै न्यून रहेकाले बालकको जीवन रक्षाका लागि अझै थप आर्थिक स्रोतको आवश्यकता रहेको छ। नवीनका अभिभावकले स्थानीय तह, जनप्रतिनिधि, सामाजिक संघ-संस्था, व्यवसायी तथा देश-विदेशमा रहेका सम्पूर्ण नेपालीहरूसँग थप आर्थिक सहयोगको याचना गरेका छन्।
