हल्दीबारी, झापा — हल्दीबारी गाउँपालिकामा ३० वर्ष वा सोभन्दा माथिका सबै नागरिकका लागि सञ्चालित ‘जापानिज इन्सेफालाइटिस (JE)’ विरुद्धको खोप अभियान तीव्र रूपमा अघि बढिरहेको छ। अभियानको ९ औं दिनसम्म आइपुग्दा गाउँपालिकाले समग्रमा ६८.६ प्रतिशत प्रगति हासिल गरेको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार ३० देखि ६० वर्ष उमेर समूहका १५,७०८ जना लक्षित नागरिकमध्ये हालसम्म १०,७८२ जनाले खोप लगाइसकेका छन्। खोप लगाउनेहरूमा पुरुषको तुलनामा महिलाको सहभागिता बढी देखिएको छ, जसमा ६,२२८ जना महिला र ४,५५४ जना पुरुष रहेका छन्।

वडागत प्रगतिको स्थिति हेर्दा वडा नं. ५ मा सबैभन्दा बढी ९०.८२ प्रतिशत नागरिक (१,६५३ जना) ले खोप लगाइसकेका छन्। त्यसैगरी वडा नं. ३ मा ८२.४ प्रतिशत (२,१०९ जना) र वडा नं. १ मा ७२.५ प्रतिशत (२,८९१ जना) प्रगति भएको छ। यस्तै वडा नं. ४ मा ५७.४ प्रतिशत (१,६१६ जना) र वडा नं. २ मा ५५.५ प्रतिशत (२,५१३ जना) नागरिकले खोप सेवा लिएका छन्।
जापानिज इन्सेफालाइटिस जस्तो गम्भीर रोगको जोखिमबाट बच्न र समाजलाई सुरक्षित राख्नका लागि बाँकी रहेका सम्पूर्ण नागरिकहरूलाई यथाशीघ्र नजिकैको खोप केन्द्रमा पुगेर खोप लगाउन गाउँपालिकाले अनुरोध गरेको छ।
