हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

झापा ३ बाट राजनीतिक घेराबन्दी चिर्दै काफ्ले र राजवंशी निर्वाचित

झापा । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत झापा क्षेत्र नम्बर ३ को क महाधिवेशन प्रतिनिधि निर्वाचनमा तीव्र राजनीतिक घेराबन्दीका बाबजुद चर्चित युवा नेता जगदीश काफ्ले र पूर्व सञ्चारकर्मी टुमलाल (टोम) राजवंशी विजयी भएका छन्।

Advertisement

​२०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि झापाको राजनीतिमा प्रभावशाली तथा चर्चित अनुहारका रूपमा उदाएका काफ्ले र आदिवासी समुदायका मुद्दालाई प्रखर रूपमा उठाउँदै आएका राजवंशी लामो समयदेखि स्थानीय राजनीतिमा घेराबन्दीको शिकार हुँदै आएका थिए। विगतका आन्तरिक प्रतिस्पर्धामा विभिन्न राजनीतिक दाउपेचमार्फत उनीहरूलाई पाखा लगाउने प्रयास भए पनि यस पटक भने क्षेत्रीय प्रतिनिधिहरूले अत्यधिक मत दिएर दुवैलाई अनुमोदित गरेका छन्।

Advertisement

​झापाली राजनीतिक वृत्तमा कुनै समय कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माभन्दा उच्च चर्चा र राजनीतिक सम्भावना बोकेका नेताका रूपमा काफ्लेलाई हेरिन्थ्यो। तर, पार्टीभित्रको आन्तरिक गुटबन्दी र निरन्तरको घेराबन्दीका कारण उनी लामो समय ओझेलमा परेका थिए। सोही राजनीतिक निराशा र थिचोमिचोका कारण उनी एक समय ‘विद्रोही कांग्रेस’का रूपमा समेत देखा परेका थिए।

​त्यस्तै, राजवंशी समुदायबाट आउने पूर्व सञ्चारकर्मी टुमलाल राजवंशीले पनि पार्टीभित्र आफ्ना एजेन्डा स्थापित गर्न ठूलो संघर्ष गर्नुपरेको थियो। यस पटकको निर्वाचनमा समेत यी दुवै नेतालाई पराजित गर्न ठूलै रणनीति र राजनीतिक खेल रचिएको भए पनि मतदाता (क्षेत्रीय प्रतिनिधि) हरूको अपार समर्थनका कारण उनीहरू विजयी हुन सफल भएका हुन्।

​लामो समयपछि आन्तरिक घेराबन्दी तोडेर पाएको यो विजयलाई स्थानीय कार्यकर्ताहरूले “राजनीतिक न्याय”का रूपमा लिएका छन्। झापा ३ को निर्वाचन परिणामसँगै काफ्ले र राजवंशी १५औं महाधिवेशनमा सशक्त उपस्थितिसहित भाग लिन काठमाडौँ जाने तयारीमा छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)