हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

मलेसियाका व्यवसायी चोलाकान्त पंगेनीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

सरोज दाहाल । क्वालालम्पुर । नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिका तर्फबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने वैधानिक व्यवस्था गरेसँगै प्रवासबाट उम्मेदवारी घोषणाको क्रम सुरु भएको छ। यसै क्रममा मलेसियामा २ दशकदेखि व्यवसायी तथा सामाजिक अभियन्ताका रूपमा सक्रिय चोलाकान्त पंगेनीले कांग्रेसको केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

Advertisement

​कांग्रेसको संशोधित विधानअनुसार विदेशस्थित जनसम्पर्क समितिहरूबाट कुल ६ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। जसअनुसार एसियाका अन्य देश (भारतबाहेक) को कोटाबाट पंगेनीले आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

Advertisement

​विधानको नयाँ व्यवस्थाअनुसार भारतस्थित जनसम्पर्क समितिबाट १, एसियाका अन्य देशबाट १, युरोपबाट १, मध्यपूर्वबाट १, अमेरिका र क्यानडाबाट १ तथा महिलाबाट १ गरी ६ जना केन्द्रीय सदस्य चयन हुनेछन्। हाल विदेशका ३७ देशमा कांग्रेसका जनसम्पर्क समिति क्रियाशील छन्।

​नेपाली जनसम्पर्क समिति मलेसियाका लगातार तीन कार्यकाल सभापति निर्वाचित पंगेनी पछिल्लो पटक सन् २०२६ जनवरीमा सम्पन्न चौथो अधिवेशनबाट पुनः नेतृत्वमा चयन भएका थिए।

​विगत २० वर्षदेखि मलेसियालाई कर्मथलो बनाउँदै आएका पंगेनीले त्यहाँ रहेका समस्याग्रस्त नेपाली श्रमिकको उद्धार, आर्थिक सहयोग तथा स्वदेश फिर्तीका लागि हवाई टिकटको व्यवस्थापनजस्ता मानवीय कार्य गर्दै आएका छन्। साथै, उनले श्रमिकका अधिकार, सामाजिक सुरक्षा र विभिन्न नेपाली सामाजिक संघसंस्थासँगको सहकार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।

​पंगेनीको उम्मेदवारीसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीका मुद्दालाई पार्टीको केन्द्रीय नीति निर्माण तहसम्म पुर्‍याउन सहयोग पुग्ने उहाँका समर्थकहरूको दाबी छ।

​प्रवासबाट प्रतिनिधित्वका लागि दक्षिण कोरिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका देशहरूबाट पनि नेताहरूले केन्द्रीय सदस्यका लागि आकांक्षा सार्वजनिक गरिसकेका छन्। संशोधित विधानको यो प्रयोगले नेपाली कांग्रेसको संगठन सुदृढीकरण र प्रवासी नेपालीसँगको सम्बन्धमा ल्याउने प्रभावलाई चासोका साथ हेरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)