झापा। हल्दिबारी जेसीजको पहल तथा विभिन्न संघ-संस्था, सामुदायिक वन, समाजसेवी र दाताहरूको सहयोगमा निर्मित नयाँ घर स्वर्गीय आरती राजवंशीको परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

स्वर्गीय राजवंशीको निधनपछि समस्यामा परेको परिवारको आवासीय अवस्थालाई ध्यानमा राख्दै जेसीजले घर निर्माण अभियान चलाएको थियो। निर्माण सम्पन्न भएसँगै आयोजित कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर जेसी जीवन कार्कीको प्रमुख आतिथ्यमा नवनिर्मित घर परिवारलाई हस्तान्तरण गरियो।

हल्दिबारी जेसीजका अध्यक्ष जेसी नितेश खरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष देबु बानिया, वर्ष २०२५ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कृष्ण सापकोटा, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष योगेश राजवंशी, संस्थापक अध्यक्ष युनिता दवाडी लगायत स्थानीय जनप्रतिनिधि, प्रहरी, सामुदायिक वनका प्रतिनिधि र समाजसेवीहरूको उपस्थिति थियो।

हल्दिबारी जेसीजले घर निर्माण अभियानमा भएको आम्दानी तथा खर्चको विवरणसमेत सार्वजनिक गर्दै पारदर्शिता कायम गरेको छ।
सार्वजनिक विवरणअनुसार दाताहरूबाट नगद रु. ३,९३,७३६।७७, जिन्सी सहयोग स्वरूप रु. १,०१,५०० र हल्दिबारी जेसीजको आफ्नै कोषबाट रु. ३६,१११।५३ गरी कुल रु. ५,३१,३४८।३० बराबरको स्रोत जुटेको थियो।
खर्चतर्फ घर निर्माणमा रु. ४,२९,८४८।३० र जिन्सी सामग्रीको अनुमानित मूल्य रु. १,०१,५०० रहेको छ। कुल रु. ७,४१,३४८।३० अनुमानित लागत रहेको उक्त निर्माण कार्यमा घर तथा शौचालय निर्माणको मिस्त्री ज्यालाबापतको अनुमानित रु. २,०५,००० रकम घरधनी प्रेमलाल राजवंशी स्वयंले व्यहोरेका हुन् भने ट्युबेल जडानमा रु. ५,००० खर्च भएको छ।
स्थानीयस्तरमा आर्थिक तथा भौतिक सहयोग जुटाएर विपन्न परिवारलाई आवास दिलाएको हल्दिबारी जेसीजको यो कार्यलाई स्थानीयले प्रशंसा गरेका छन्।
कार्यक्रम संयोजक एवं कानुनी सल्लाहकार जेसी योगेश कार्की रहेको सो समारोहको सञ्चालन महासचिव जेसी अनिल चौहानले गरेका थिए।
