हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

हल्दीबारीमा लागूऔषधविरुद्ध ६० विद्यार्थीलाई सचेतना

Advertisement

​हल्दिबारी (झापा) — लागूऔषध दुर्व्यसनबाट युवापुस्तालाई जोगाउँदै स्वस्थ र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालय पूर्वविद्यार्थी समाजले एकदिवसीय सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।

Advertisement

​चेतना नेपालको सहकार्यमा झापाको हल्दिबारी–३ मा शनिबार सम्पन्न कार्यक्रममा क्षेत्रका तीन सामुदायिक र एक संस्थागत गरी चार विद्यालयका ६० जना विद्यार्थी सहभागी थिए। कार्यक्रममा विद्यार्थीहरूलाई लागूऔषध प्रयोगबाट हुने स्वास्थ्य, पारिवारिक, सामाजिक तथा कानुनी असरबारे जानकारी गराउँदै दुर्व्यसनबाट टाढा रहन प्रेरित गरियो।

​चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल दुर्गामणि गौतमले दीप प्रज्ज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा पञ्चायत माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय, रामेश्वर आधारभूत विद्यालय र चिल्ड्रेन गार्डेनका शिक्षक प्रतिनिधिहरू कमला बिष्ट आचार्य, अर्चना बोहोरा, हरिमाया मिश्र र कमल पौडेलको उपस्थिति थियो।

​कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै पूर्वविद्यार्थी समाजका अध्यक्ष अभिषेक खतिवडाले हल्दिबारी–३ केन्द्रित युवा तथा विद्यार्थीलाई लक्षित गरी अभियान सुरु गरिएको बताए। युवा विद्यार्थी समाजका भावी कर्णधार भएकाले उनीहरूलाई सही दिशा प्रदान गर्दै सकारात्मक सोच र सामाजिक चेतनाको विकास गराउने उद्देश्य राखिएको उनको भनाइ थियो।

​प्रशिक्षक तथा चेतना नेपालका अध्यक्ष इन्द्र ओलीले लागूऔषधको असर, प्रयोगबाट हुने हानिनोक्सानी, कानुनी व्यवस्था तथा तथ्यांकबारे विद्यार्थीलाई प्रशिक्षण दिए। लागूऔषधले व्यक्तिको स्वास्थ्यसँगै परिवार, समाज र भविष्यमा पार्ने नकारात्मक प्रभावबारे जानकारी दिँदै उनले रोकथाममा युवाको भूमिका महत्त्वपूर्ण हुने बताए।

​कार्यक्रममा चेतना नेपालका जनसम्पर्क प्रमुख प्रेम सेढाई, सामाजिक व्यक्तित्वद्वय प्रेम न्यौपाने र सन्तोषकुमार मेचे, स्टुडेन्ट क्रिएटिभ फोरमकी अध्यक्ष पूजा रेग्मी, पूर्वविद्यार्थी समाजका पदाधिकारी तथा विद्यार्थीहरूको सहभागिता थियो।

​सहभागी विद्यार्थीहरूले ‘लागूऔषधमुक्त समाज निर्माण’ को संकल्पसहित प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन्। उनीहरूले लागूऔषधविरुद्धको अभियानमा आफ्नो भूमिका निर्वाह गर्दै सभ्य र सुरक्षित समाज निर्माणमा योगदान गर्ने प्रतिबद्धता जनाए।

​सामाजिक व्यक्तित्वहरू न्यौपाने र मेचेले पूर्वविद्यार्थी समाजको प्रयासलाई अनुकरणीय पहलका रूपमा टिप्पणी गरे। प्रमुख अतिथि गौतमले पूर्वविद्यार्थीहरूले विद्यालय र समुदायप्रतिको दायित्वलाई व्यवहारमा उतार्न थालेकोमा खुसी व्यक्त गरे। सहभागी विद्यार्थी जेनिसा भण्डारीले कार्यक्रमबाट महत्त्वपूर्ण ज्ञान र सिकाइ प्राप्त भएको बताइन्।

​सोही अवसरमा समुदायमा लागूऔषध दुर्व्यसन न्यूनीकरणमा योगदान पुर्‍याउँदै आएको चेतना नेपाललाई पूर्वविद्यार्थी समाजले सम्मानस्वरूप प्रमाणपत्र प्रदान गरेको थियो। अध्यक्ष खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पूर्वविद्यार्थी दिपिका कार्कीले गरेकी थिइन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)