हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

हल्दीबारीको पाराखोपी बजारमा जेब्रा क्रसिङ निर्माण र खाल्टाखुल्टी पुर्ने अभियान सुरु

झापा। झापाको हल्दीबारी गाउँपालिका–२ स्थित पाराखोपी बजार क्षेत्रमा सवारी साधनको चापसँगै बढ्दो दुर्घटनाको जोखिम न्यूनीकरण गर्न स्थानीय युवाहरूले प्रशंसनीय पहलकदमी लिएका छन्। पाराखोपी बजारको ट्राफिक सुरक्षा र सडक सुधारलाई मुख्य प्राथमिकता दिँदै बजार क्षेत्रमा जेब्रा क्रसिङ निर्माण तथा सडकका खाल्टाखुल्टी पुर्ने अभियान तीव्र रूपमा अघि बढाइएको छ।

Advertisement

​स्थानीय युवा व्यवसायी पर्वत डाँगीको प्रत्यक्ष सहयोग तथा ‘हल्दीबारी युवा ब्रान्ड’को सहकार्यमा सञ्चालित यस अभियानअन्तर्गत पाराखोपी बजार क्षेत्रमा पैदलयात्रुको सुरक्षित आवागमनका लागि जेब्रा क्रसिङ कोर्ने काम सम्पन्न गरिएको छ। यसका साथै पाराखोपी बजारदेखि देउनिया खोलासम्मको सडकखण्डमा बनेका जोखिमयुक्त खाल्टाखुल्टी पुर्ने कामसमेत धमाधम भइरहेको छ।

Advertisement

​स्थानीय स्रोत र साधनको प्रभावकारी उपयोग गर्दै सञ्चालित यस अभियानका लागि आवश्यक रङ, सिमेन्ट तथा गिटी श्री पाराखोपी साना किसान चिया सहकारी संस्था (हल्दीबारी–२) ले उपलब्ध गराएको हो। सहकारी संस्थाका सचिवसमेत रहेका युवा व्यवसायी पर्वत डाँगीका अनुसार स्थानीयस्तरबाटै अग्रसरता लिएर बजारको ट्राफिक व्यवस्थापन चुस्त बनाउन र सडकको दुरावस्था सुधार्न यो अभियान थालिएको हो।

​अभियानलाई व्यवस्थित र सुरक्षित बनाउन हल्दीबारी प्रहरी चौकी तथा ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीको समेत प्रत्यक्ष उपस्थिति र प्राविधिक सहयोग रहेको थियो। सार्वजनिक सडक र पैदलयात्रुको सुरक्षालाई ध्यानमा राखेर युवाहरूले देखाएको यो सक्रियताको स्थानीयवासीले खुलेर प्रशंसा गरेका छन्।

​हल्दीबारी उद्योग वाणिज्य सङ्घका सदस्य कुमार कार्कीका अनुसार स्थानीय युवा, व्यावसायिक संस्था र प्रहरी प्रशासनको संयुक्त प्रयासले पाराखोपी बजारको ट्राफिक व्यवस्थापनमा ठूलो सुधार आउने र सम्भावित दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)