नेत्र बिक्रम बिमली :

झापा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा झापामा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने नेताहरूको लहर चलेको छ। पार्टीका विभिन्न समावेशी तथा खुला क्लस्टरबाट आकांक्षीहरू मैदानमा आउँदा वीरमणि ढकाल र जगदीश काफ्लेसहित करिब दुई दर्जन नेताहरूले केन्द्रीय समितिमा बलियो दाबी प्रस्तुत गरेका छन्।

जिल्लाबाट ठूलो संख्यामा उम्मेदवारी पर्ने सङ्केत देखिएपछि आकांक्षीहरू आफ्नो पक्षमा माहौल बनाउन र समर्थन जुटाउन तीव्रताका साथ लागेका छन्। यद्यपि, कुन क्लस्टरबाट कसले अन्तिम प्रतिस्पर्धा गर्ने भन्ने विषयमा भने सहमति र समीकरण मिलाउन अझै बाँकी छ।
केन्द्रीय सदस्यका लागि खुला तथा समावेशी दुवै समूहमा जिल्लाका प्रभावशाली नेताहरू अग्रसर देखिएका छन्। खुला तथा अन्य क्षेत्रबाट वीरमणि ढकाल, जगदीश काफ्ले, रामकुमारी पौडेल,अनिलकृष्ण प्रसाईं,मेदनी सिटौला र राजु राजवंशी (सन्तोष)लगायतका नेताहरू दौडमा छन्।
यसपटक झापाबाट पुराना अनुहारका साथै महिला र युवा पुस्ताको दाबी पनि उल्लेख्य र सशक्त देखिएको छ। महिला क्लस्टरबाट उमा शिवाकोटी र सीतादेवी पौडेलले उम्मेदवारीको तयारी अघि बढाएका छन् भने ३५ वर्षमुनिको युवा क्लस्टरबाट रुवि सिटौला, सरिता पौडेल र निरज दुलालले उम्मेदवारीको घोषणा गरेका छन्। यस्तै, पेशागत तथा विषय विज्ञ क्लस्टरबाट विज्ञान प्रसाईं, भूगोलतर्फ रेगिना भट्टराई र अपांगता क्लस्टरबाट उत्सव ढकालले आफ्नो दाबी पेस गरेका छन्।
नेपाली कांग्रेस जिल्ला सचिव नविन बिमलीका अनुसार हालसम्म जिल्लाबाट करिब २२ जना नेताहरूले केन्द्रीय सदस्य बन्ने इच्छा व्यक्त गरिसकेका छन्। ‘अहिलेसम्म करिब २२ जनाले आकांक्षा व्यक्त गर्नुभएको छ,’ सचिव बिमलीले भने, ‘अन्तिम रूपमा को–को उम्मेदवार बन्ने भन्ने विषय भोलिसम्ममा यकिन हुनेछ।’
कांग्रेसको नयाँ विधान अनुसार खुला पदका अतिरिक्त महिला, युवा, अपांगता, पेशागत तथा विषय विज्ञ जस्ता समावेशी समूहबाट प्रतिनिधित्वको व्यवस्था भएकाले पनि आकांक्षीको संख्या बढेको हो। हालै सम्पन्न क्षेत्रीय अधिवेशनमा पनि यिनै क्लस्टरहरूमा कडा प्रतिस्पर्धा देखिएको थियो। झापा–२ मा महिला क्लस्टरका ४ पदका लागि ११ जना प्रतिस्पर्धामा उत्रिएका थिए भने युवा महिला क्लस्टरबाट रुवि सिटौला निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएकी थिइन्। त्यसैगरी अपांगताबाट उत्सव ढकाल र विषय विज्ञबाट विज्ञान प्रसाईं महाधिवेशन प्रतिनिधि बनेका छन्।
झापाबाट महाधिवेशन प्रतिनिधि, गाउँ, नगर, क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय सभापति गरी कुल १९५ जनाको ठूलो टोली महाधिवेशनमा सहभागी हुँदैछ। ठूलो संख्यामा प्रतिनिधिहरू रहेकाले केन्द्रीय सदस्यका आकांक्षीहरूका लागि झापा आफैँमा मुख्य शक्ति केन्द्र बनेको छ।
असोज १६ देखि १९ गतेसम्म हुने केन्द्रीय महाधिवेशनको मिति नजिकिएसँगै आकांक्षी धेरै देखिए पनि अन्तिम उम्मेदवारी मनोनयनसम्म समूहगत सहमति र क्लस्टर व्यवस्थापनमार्फत उम्मेदवारको संख्या घट्न सक्ने जिल्ला नेतृत्वको भनाइ छ।
