हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

अन्धकार जेलकाे पर्खाल भित्रबाट जीवनको एउटा तितो सत्य


​जिन्दगीले कुन मोडमा ल्याएर पछार्छ, कहिलेकाहीँ आफैँलाई विश्वास लाग्दैन। आज म जेलका यी चीसा र साँघुरा पर्खालहरूभित्र कैद छु। यहाँको शान्तिमा जब म आफ्नो विगतलाई फर्केर हेर्छु, मेरो छाती भक्कानिएर आउँछ। म कसरी यहाँसम्म आइपुगेँ? मेरो जीवन कसरी एउटा जिउँदो लास बन्न पुग्यो? यो कथा केवल मेरो सजायको दस्तावेज मात्र होइन, एउटा भड्किएको आत्माको पश्चात्ताप पनि हो।

Advertisement

​मेरो दुखको कथा बुबा बिदेश जानुभएपछि सुरु भएको होइन, तर बुबाको अनुपस्थितिले मेरो जीवनमा ठूलो खालीपन ल्याइदिएको भने पक्कै हो। घरको आर्थिक अवस्था सुधार्न बुबा मुग्लानिनुभयो। घरमा आमा र कान्छी बहिनी मात्र थियौँ। आमा लेखपढ नगरेकी, सोझी र दयालु हुनुहुन्थ्यो। बुबाले पठाएको पैसाले घर व्यवहार त चल्थ्यो, तर मेरो हुर्किँदो उमेरलाई चाहिने मार्गदर्शन र कडा अनुशासनको घरमा अभाव थियो।

Advertisement

विद्यालय मेरो लागि ज्ञानको मन्दिर हुनुपर्ने ठाउँमा डर र हीनभावनाको थलो बन्यो। म पढाइमा सुरुदेखि नै अलि कमजोर थिएँ। कक्षामा शिक्षकहरूले मलाई सधैँ हप्काउने, अरू अगाडि हेप्ने र “यसले जीवनमा केही गर्न सक्दैन” भनेर वाक्य रच्ने गर्नुहुन्थ्यो। साथीहरू पनि मेरो कमजोरीको खिल्ली उढाउँथे। शिक्षक र सहपाठी दुवैबाट अपहेलित र तिरस्कृत महसुस हुँदा मेरो मनमा सधैँ एउटा गहिरो चोट पर्थ्यो। मलाई लाग्थ्यो, यो संसारमा मेरो अस्तित्व कसैका लागि महत्त्वपूर्ण छैन।

स्कुलमा अपमानित हुँदै जाँदा मैले आफूजस्तै पढाइमा कमजोर र टोलाएर हिँड्ने साथीहरूसँग हिमचिम बढाउन थालेँ। उनीहरूसँग बस्दा मलाई कसैले सिकाउन वा हेप्न आउँदैनथ्यो। त्यहीँ मैले स्वीकार्यताको नक्कली आभास पाएँ। एकदिन, तिनै साथीहरूले मलाई मनको तनाव र हीनभावना बिर्सिने भन्दै नसालु पदार्थको प्याला समाइदिए। “एउटा घुट्को त हो, केही हुँदैन” भन्ने उनीहरूको लहलहैमा लागेर मैले पहिलोपटक नसाको स्वाद चाखेँ। त्यो पहिलो घुट्को नै मेरो सर्वनाशको सुरुआत बन्यो।

बिस्तारै, चुरोट र गाँजाबाट सुरु भएको यो कुलत कडा लागुपदार्थसम्म पुग्यो। मलाई अब नसाबिना एकछिन पनि बस्न नसक्ने धुप लाग्यो। घरमा आमाले मेरो आँखाको रतोपन, मेरो परिवर्तन र हराउँदै गएको होस देखेपछि धुरुधुरु रुनुहुन्थ्यो। बहिनी मेरो अवस्था देखेर टोलाउँथिन्। म नसाको सुरमा आमा र बहिनीलाई गाली गर्थेँ, सामान फुटाउँथेँ। म कतिबेला के गर्छु र नसाको झोंकमा कसैको ज्यानै लिन्छु कि भन्ने डरले आमा र बहिनी पलपल आतङ्कित हुन्थे। आमालाई बुबालाई फोन गरेर सबै कुरा भन्न मन त थियो, तर कतै मैले बुबालाई पनि केही हानि पुर्‍याउने हो कि वा बुबाले विदेशमै चिन्ताले ज्यान फाल्नुहुन्छ कि भन्ने डरले उहाँहरूले विदेशमा हुनुभएका बुबालाई समेत केही खबर गर्नुभएन। उहाँहरूले मेरो यो रूप गुप्तै राखेर घुटुघुटु आँसु पिउनुभयो।

अन्ततः, नसाको यो अन्धकारले मलाई अपराधको बाटोमा धकेल्यो। नसा किन्न पैसाको shortage भएपछि र गलत सङ्गतमा पर्दै जाँदा म कानुनको घेरामा परेँ। आज म लागुपदार्थ दुर्व्यसन र यसैसँग जोडिएका अपराधका कारण जेलको कालकोठरीमा सजाय काटिरहेको छु।
​यहाँ जेलको शान्त वातावरणमा जब नसाको धङधङी उत्रिन्छ, तब मलाई आफ्नो आमाको रोएको अनुहार र बहिनीको डराएको आँखा सम्झना आउँछ। मैले उहाँहरूको जीवन नर्क बनाएँ। साथीको लहलहै र क्षणिक आनन्दले मेरो जवानी, मेरो भविष्य र मेरो परिवारको खुसी सबै सखाप पारिदियो।

यदि मेरो यो कथा कसैले पढिरहेको छ भने, म हात जोडेर बिन्ती गर्छु— नसा कहिल्यै कुनै समस्याको समाधान हुन सक्दैन। साथीहरूको गलत सङ्गत र क्षणिक आनन्दले जिन्दगीलाई जेलको यो चीसो भुइँमा ल्याएर पछार्छ। मैले त आफ्नो जीवन बर्बाद गरेँ, तर आशा छ, मेरो यो भोगाइबाट कसैले पाठ सिक्नेछ।

विवेक रिजाल
आजीवन सदस्य
चेतना नेपाल परामर्श केन्द्र विर्तामोड ४ झापा

(चेतनामुलक आत्माकथा : भाग – १)

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)