हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

बाह्रदशी गाउँपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सुनिता रिमाललाई स्वागत, रोकिएका कामहरूले गति लिने अपेक्षा

झापा, बाह्रदशी : झापाको बाह्रदशी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुनिता रिमाललाई औपचारिक रूपमा स्वागत गरिएको छ। गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाई तथा उपाध्यक्ष शान्तादेवी शिवाकोटीले नवनियुक्त अधिकृत रिमाललाई खादा, अबिर र टिका लगाएर स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

Advertisement

​यसअघिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया सरुवा भएर गएपछि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेको थियो। पूर्व प्रशासकीय अधिकृत थपलिया सरुवा हुनेबित्तिकै पालिकाका अत्यावश्यक कामकाजहरू ठप्प प्रायः बनेका थिए। प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण सर्वसाधारणका दैनिक सेवाप्रवाह, बजेट कार्यान्वयन र विकास निर्माणका योजनाहरू प्रत्यक्ष प्रभावित भएका थिए।

Advertisement

​नयाँ प्रशासकीय प्रमुखका रूपमा कुशल र अनुभवी प्रशासक सुनिता रिमालको आगमनसँगै अब रोकिएका प्रशासनिक तथा विकास निर्माणका कामहरूले पुनः गति लिनेमा पालिकावासी र जनप्रतिनिधिहरू आशावादी बनेका छन्।

​विशेष गरी बाह्रदशी गाउँपालिकामा लामो समयदेखि हुन नसकेको ‘सार्वजनिक सुनुवाइ’ कार्यक्रम तथा अन्य सुशासन र पारदर्शीता सम्बन्धी कामहरूलाई अगाडि बढाउनु नवनियुक्त अधिकृत रिमालका लागि मुख्य प्राथमिकताको विषय बन्ने देखिन्छ। यसका साथै स्थानीय स्तरमा रोकिएका विकास निर्माणका कामकारबाही, योजना सम्झौता तथा भुक्तानी प्रक्रियालाई कसरी प्रभावकारी र पारदर्शी रूपमा अगाडि बढाउने भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

​कार्यक्रममा अध्यक्ष चम्लागाई र उपाध्यक्ष शिवाकोटीले पालिकाको समग्र विकास, सुशासन कायम र जनमैत्री सेवा प्रवाहका लागि नयाँ प्रशासकीय प्रमुखलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत रिमालले पनि कानुनको परिधिभित्र रही पालिकावासीको हित र विकास निर्माणका कामलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)