हल्दीबारी , झापा । झापाको हल्दीबारी गाउँपालिका पुगेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्रमणकुमार पोखरेलसमक्ष स्थानीय बासिन्दाले नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी (पासपोर्ट) बनाउँदा झन्झट व्यहोर्नुपरेको दुखेसो पोखेका छन्।


गाउँपालिकामा आयोजित सेवा प्रवाह र समस्याबारेको छलफल तथा अवलोकन कार्यक्रममा स्थानीयवासी र जनप्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालयबाट पाउने सेवामा भोग्नु परेका सास्तीबारे सिडिओ पोखरेलको ध्यानाकर्षण गराएका हुन्।

वर्षौंदेखि यहीँ जन्मेर हुर्किए पनि नागरिकता नपाएका युवाहरूको समस्या, परिवारका अन्य सदस्यको नागरिकता भए पनि राष्ट्रिय परिचयपत्र र राहदानी बनाउँदा व्यहोर्नुपरेको जटिलताबारे स्थानीयले सिडिओसमक्ष गुनासो राखेका थिए।

स्थानीयका समस्या सुनेपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले कानुनले नागरिकलाई दिएका अधिकारहरू पाउने कुरामा कुनै बाधा हुन नदिने बताए।
”कानुनले नागरिकलाई दिएका अधिकारहरू स्थानीय स्तरबाटै कुनै झन्झटबेगर पाउनुपर्छ,” सिडिओ पोखरेलले भने, “जिल्ला प्रशासन कार्यालयका तर्फबाट त्यस्ता काम-कारबाही रोकिँदैनन्। प्रक्रिया पुगेका नागरिकका सेवा सुचारु रूपमा अघि बढ्छन्।”

कार्यक्रममा गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, विभिन्न वडाका वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरूको उपस्थिति थियो।
छलफल तथा अन्तरक्रियापछि सिडिओ पोखरेलले गाउँपालिकाका विभिन्न विषयगत शाखाहरू र पालिकाभित्र रहेको अस्पतालको प्रत्यक्ष निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले नागरिकलाई दिइने सेवा प्रवाहलाई चुस्त र पारदर्शी बनाउन निर्देशन दिएका छन्।
