सिलगढी । बोनस भुक्तानीको माग राख्दै नक्सलबारी चिया बगानका श्रमिकहरूले सोमबारदेखि पुनः आन्दोलन सुरु गरेका छन्। बगान परिसरमा भेला भएका श्रमिकहरूले व्यवस्थापनविरुद्ध नाराबाजी गर्दै बाँकी र चालु वर्षको बोनस तत्काल भुक्तानी गर्न माग गरेका हुन्।

श्रमिकहरूका अनुसार गत वर्षको ३ प्रतिशत बोनस अझै भुक्तानी हुन बाँकी छ। चालु वर्षका लागि २० प्रतिशत बोनसको माग गरिए पनि व्यवस्थापन पक्षबाट हालसम्म कुनै स्पष्ट निर्णय आइसकेको छैन। मुख्यमन्त्रीले अक्टोबर ५ भित्रै सबै चिया बगानमा बोनस भुक्तानी गरिसक्न निर्देशन दिए पनि नक्सलबारी बगानमा भने समस्या अझै ज्यूँका त्यूँ रहेको श्रमिकहरूको गुनासो छ।

गत वर्षको बाँकी ३ प्रतिशत र यस वर्षको २० प्रतिशत बोनस नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी श्रमिकहरूले दिएका छन्। प्राङ्गारिक (जैविक) रूपमा चिया उत्पादन हुने यस बगानमा वर्षभरि कडा मिहिनेत गरे पनि चाडपर्वका बेला बोनसका लागि सधैँ सङ्घर्ष गर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ।
यसैबीच, बगानका प्रबन्धक प्याट्रिक तामाङले भने समस्याबारे मालिक पक्षलाई जानकारी गराइएको बताएका छन्। हाल १० प्रतिशत बोनस दिने विषयमा छलफल भइरहेको र बगानको कमजोर आर्थिक अवस्थाका कारण पूर्ण बोनस दिन समस्या परेको उनको दाबी छ। तर, श्रमिकहरू भने आफूहरूको माग पूरा हुनुपर्ने अडानमा कायम छन्।
