हल्दीबारी (झापा) — हल्दीबारी गाउँपालिकामा सञ्चालित १५ दिने जापानिज इन्सेफलाइटिस (JE) विरुद्धको खोप अभियान सफलताका साथ सम्पन्न भएको छ। १५औँ दिनसम्म आइपुग्दा गाउँपालिकाका कुल १३ हजार ६ सय ८३ जना नागरिकले खोप सेवा प्राप्त गरेका छन्, जुन कुल लक्षित जनसङ्ख्याको ८७.१ प्रतिशत उपलब्धि हो।

गाउँपालिकाले ३० देखि ६० वर्ष उमेर समूहका १५ हजार ७ सय ८८ जना नागरिकलाई लक्षित गरी यो अभियान सञ्चालन गरेको थियो। कुल खोप लगाउनेहरूमा ७ हजार ८ सय ७३ जना महिला र ५ हजार ८ सय १० जना पुरुष रहेका छन्।

वडागत पहुँचका आधारमा वडा नं. ५ मा सबैभन्दा बढी ९९.४ प्रतिशत (१,८०९ जना) ले खोप लगाएका छन्। त्यसैगरी वडा नं. ४ मा ९४.७ प्रतिशत (२,६६४ जना), वडा नं. ३ मा ९२.४ प्रतिशत (२,३६३ जना), वडा नं. २ मा ८२.९ प्रतिशत (३,७५३ जना) र वडा नं. १ मा ७७.६ प्रतिशत (३,०९४ जना) नागरिकले खोप लिएका छन्।
अभियानको सफल समापनसँगै हल्दीबारी गाउँपालिका, स्वास्थ्य शाखाले यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, खोप केन्द्रमा खटिएका कर्मचारी, जनप्रतिनिधि तथा सम्बद्ध संघ-संस्थाहरूप्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेको छ। साथै, आफ्नो स्वास्थ्यप्रति जिम्मेवार भई खोप अभियानमा सक्रिय सहभागिता जनाउने हल्दीबारी गाउँपालिकाका सम्पूर्ण नागरिकहरूप्रति पनि स्वास्थ्य शाखाले विशेष धन्यवाद ज्ञापन गरेको छ।
