काठमाडौँ । झापाका सांसद पाठकले आफ्नो पदबहालीसपछिको ६ महिनामा गरेका प्रमुख काम, जनसंवाद तथा प्राप्त सेवा-सुविधाको विवरण समेटिएको ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन्। जनताप्रतिको उत्तरदायित्व र पारदर्शितालाई मुख्य प्राथमिकतामा राख्दै उनले ६ महिनाको कार्यप्रगति जनसमक्ष ल्याएका हुन्।

प्रत्यक्ष संवाद र सहजीकरण

सांसद पाठकका अनुसार ६ महिनाको अवधिमा उनले ४ पटक आफ्नो निर्वाचन क्षेत्रको भ्रमण गरी मतदातासँग प्रत्यक्ष अन्तर्क्रिया गरेका छन्।
यस्तै वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा ज्यान गुमाएका ९ जना नेपालीको शव स्वदेश ल्याउन र अलपत्र परेका ३ जना नागरिकलाई सकुशल उद्धार गरी फर्काउन उनले विशेष पहल गरेका छन्।
विकास निर्माण र जनस्वास्थ्यका क्षेत्रमा कचनकवल १ स्थित पिण्डलबारीमा झोलुङ्गे पुल निर्माणका लागि प्राविधिक टोलीसँग अनुगमन गराई प्रतिवेदन तयार पारिएको छ। साथै, जापानी इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान पहिलो चरणमा झापामा सञ्चालन गराउनसमेत उनले ठोस पहल गरेको रिपोर्ट कार्डमा उल्लेख छ।
पारदर्शिता र सेवा-सुविधाको हिसाब
वित्तीय पारदर्शिताको अभ्यास गर्दै सांसद पाठकले आफूले राज्यबाट पाउने मासिक पारिश्रमिक र सेवा-सुविधाको विवरण सार्वजनिक गरेका छन्।
उहाँले मासिक तलब, घरभाडा, सञ्चार, धारा/बिजुली र विशेष भत्ता गरी कुल रु. ६६,०७० प्राप्त गर्ने विवरणमा उल्लेख छ। सो रकमबाट पार्टी लेवीबापत रु. १५,००० र सामाजिक सुरक्षा तथा पारिश्रमिक करबापत रु. १,५०७ कट्टी हुन्छ। सदन तथा समितिको बैठक भत्तासहित उहाँले खुद रु. ७३,५६३ बुझेका छन्। सदन वा समितिको बैठक बसेको दिन extra रु. १,००० बैठक भत्ता र रु. १,००० यातायात भत्ता प्राप्त हुने गर्छ।
जनताको सेवा नै आफ्नो मुख्य निष्ठा र प्रतिबद्धता रहेको सांसद पाठकले दोहोर्याएका छन्।
