झापा । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालले विशेष सुरक्षा योजना लागू गरेको छ। असोज २२ गतेदेखि देशभर कार्यान्वयनमा ल्याइएको ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अन्तर्गत २८ हजार १ सय २६ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ।

नागरिकको जिउधनको सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा महत्त्वपूर्ण संरचनाको संरक्षण गर्दै शान्तिपूर्ण वातावरण कायम राख्न यो योजना ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ। आकस्मिक परिस्थितिका लागि थप ४ हजार ५ सय जनशक्ति युनिटहरूमा ‘स्ट्यान्ड बाइ’ राखिएको छ।

सीमावर्ती क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न छिमेकी मुलुक भारत र चीनतर्फका समकक्षी सुरक्षा निकायहरूसँग समन्वय गरिएको छ। यात्रु तथा पर्यटकको सहजताका लागि सीमा नाकाहरूमा १ सय ४१ स्थानमा नागरिक सहायता कक्ष, १६ स्थानमा नागरिक स्वास्थ्य कक्ष र १३ स्थानमा पर्यटक सहायता कक्ष स्थापना गरिएका छन्।
झापाको काँकडभिट्टा, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाकामा अवैध हातहतियार, विस्फोटक पदार्थ तथा लागूऔषध नियन्त्रणका लागि तालिमप्राप्त ‘स्निफिङ डग’ टोली खटाइएको छ।
राजमार्गमा हुनसक्ने सवारी दुर्घटनालाई ध्यानमा राख्दै ३७ स्थानमा एम्बुलेन्ससहितको उद्धार टोली र सातै प्रदेश एवं काठमाडौँ उपत्यकाका १६ स्थानमा ‘मास क्याजुअल्टी भेइकल’ तैनाथ गरिएको छ। विपद् व्यवस्थापनका लागि ५५ वटा अस्थायी मनसुन बेस र १६ वटा स्थायी बेसमा दक्ष जनशक्ति खटाइएको छ।
सुरक्षा योजनाअन्तर्गत दैनिक ४ सय १५ स्थानमा पिकेट, ४ सय १८ चेक पोइन्ट, ६ सय १ पैदल गस्ती, ५ सय ५५ मोबाइल गस्ती र १ सय ४६ क्युआरटी परिचालन हुनेछन्। यस्तै १४ वटा बम डिस्पोजल टोली, २५१ विपद् उद्धार टोली र ११ स्थानमा गोताखोर टोली चौबीसै घण्टा तयारी अवस्थामा रहनेछन्।
निगरानीका लागि २१ वटा ड्रोन र सीमा क्षेत्रका ४ सय १२ वटा सीसीटीभी क्यामेरामार्फत अनुगमन भइरहेको छ। योजनाको प्रभावकारी कार्यान्वयनका लागि देशभर ९४ वटा अनुगमन टोली खटाइएको छ।
आपत्कालीन अवस्थामा नागरिकले टोल फ्री नम्बर १११४ वा सीमा हटलाइन नम्बर ९८५१२६०७३० मा सम्पर्क गर्न सक्ने सशस्त्र प्रहरीका प्रवक्ता एवं नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिए।
