झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र गुटबन्दी, दुष्प्रचार र समानान्तर गतिविधि नगर्न चेतावनी दिएको छ। आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको रुपरेखा सार्वजनिक गर्दै रास्वपाले अनुशासन उल्लङ्घन गर्ने जोकोहीको उम्मेदवारी प्रक्रिया तत्काल रद्द गरी कारबाही अघि बढाउने जनाएको हो।
स्थानीय तहको उम्मेदवार चयनका लागि आधार तय गर्दै पार्टीको आधिकारिक संयन्त्रबाहिर गएर गुटगत भेला गर्ने, समानान्तर संरचना खडा गर्ने तथा दबाब समूह निर्माण गर्ने कार्यलाई अनुशासनहीनताको रूपमा लिइने पार्टीले प्रस्ट पारेको छ।
रास्वपाका अनुसार पार्टीको आधिकारिक निर्णय प्रक्रियामा अवरोध पुर्याउने, अन्य आकाङ्क्षी वा मूल्याङ्कन संयन्त्रविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भ्रामक सूचना फैलाउने, मिथ्या आरोप लगाउने र चरित्र हत्या गर्नेसमेतका कार्यलाई अनुशासनको गम्भीर उल्लङ्घन मानिनेछ।
राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ, मर्यादित र विचार-केन्द्रित बनाउनुपर्नेमा जोड दिँदै रास्वपाले व्यक्तिहत्यात्मक, गुटगत र विधिविरोधी अभ्यासलाई पार्टीभित्र कुनै स्थान नदिइने स्पष्ट पारेको छ। गुटबन्दीमा संलग्न आकाङ्क्षीको उम्मेदवारी दर्ता/सिफारिस प्रक्रिया तुरुन्त खारेज गरिनेसमेत पार्टीले जनाएको छ।
