समाचार
हल्दिबारी संवाददाता १ दिन अगाडि

नेपालमा २४ घण्टाभित्र भएका पृथक सवारी दुर्घटनामा ९ जनाको मृत्यु

झापा । नेपालका विभिन्न जिल्लाहरूमा भएका सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टाभित्र कम्तीमा नौ जनाको अकालमा ज्यान गएको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पूर्वदेखि पश्चिमसम्मका विभिन्‍न सात जिल्लाहरू—सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा यी मानवीय क्षति भएका हुन्।

​सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी–५ निवासी २१ वर्षीया युपना राईसहित अन्य दुई जना रहेका छन्। दुर्घटनामा घाइते भएका चालकसहित अन्य यात्रुहरूको सिन्धुली अस्पताल र काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

​त्यस्तै, सुनसरीको इनरूवा–४ मा ट्रकको ठक्करबाट ५० वर्षीया रितादेवी यादवको मृत्यु भएको छ भने उदयपुरको कटारीमा इभी गाडी र मोटरसाइकल ठोक्किँदा ३० वर्षीय सुमन श्रेष्ठले ज्यान गुमाएका छन्।

​यसै गरी, धनुषाको जनकपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा १८ वर्षीय सुजित यादव, मोरङको सुनवर्षीमा मोटरसाइकल दुर्घटनामा ४७ वर्षीय शिवकुमार मण्डल, रौतहटको मौलापुरमा मोटरसाइकल अनियन्त्रित हुँदा ७० वर्षीया सोमरियादेवी ठाकुर र रोल्पाको माडीमा अटो दुर्घटना हुँदा ३२ वर्षीया खुमाकुमारी भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

​चाडपर्वको समय नजिकिँदै गर्दा सडकमा सवारीको चाप बढ्नुका साथै तीव्र गति र अनियन्त्रित सवारीका कारण दुर्घटनाको जोखिम थप बढेको भन्दै प्रहरीले यात्रा गर्दा उच्च सावधानी अपनाउन आग्रह गरेको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)