समाचार
हल्दिबारी संवाददाता ४८ मिनेट अगाडि

‘हामी सन्थाल हौँ, सतार होइनौँ’ : अभियन्ता मुर्मुको आपत्ति, सरकारी कागजात सच्याउन माग

झापा। सामाजिक अभियन्ता शिबु मुर्मुले सन्थाल समुदायलाई ‘सतार’ भनेर सम्बोधन गर्ने र सामाजिक सञ्जालमा ट्रोल तथा कमेडीको पात्र बनाउने प्रवृत्तिप्रति कडा आपत्ति जनाएका छन्।

​आफूहरूले पटक–पटक विभिन्न समुदाय तथा सरोकारवाला पक्षलाई समुदायको सही पहिचान ‘सन्थाल’ भएको र ‘सतार’ नभएको स्पष्ट पारिसक्दा पनि व्यवहारमा अझै ‘सतार’ शब्द प्रयोग भइरहेकामा उनले असन्तुष्टि व्यक्त गरे। यसले समुदायको पहिचान, आत्मसम्मान र सामाजिक प्रतिष्ठामा गम्भीर चोट पुगेको उनको भनाइ छ।

​मुर्मुले सामाजिक सञ्जालमा सन्थाल समुदायलाई हास्यव्यङ्ग्य, ट्रोल र मनोरञ्जनको विषय बनाइएकोप्रति ध्यानाकर्षण गराउँदै कुनै पनि जातीय पहिचानलाई होच्याएर मनोरञ्जनको साधन बनाउनु अनुचित हुने बताए।

​‘हामी सन्थाल हौँ, सतार होइनौँ’ भन्ने स्पष्ट सन्देश दिँदै अभियन्ता मुर्मुले सन्थाल समुदायको नाम र पहिचानसम्बन्धी विषयमा आवश्यक सुधार गर्न सरकारले चासो नदेखाएको भन्दै प्रश्नसमेत उठाएका छन्।

​विभिन्न लेखक तथा समुदायका जानकारहरूले पनि सरकारी कागजात र आधिकारिक अभिलेखमा प्रयोग हुँदै आएको ‘सतार’ शब्द हटाएर सही पहिचानअनुसार ‘सन्थाल’ कायम गर्नुपर्ने माग उठाउँदै आएको उनले जानकारी गराए। सरकारी निकायले यस मागलाई गम्भीरतापूर्वक लिई सम्बन्धित अभिलेख तथा आधिकारिक विवरणमा तत्काल सुधार गर्नुपर्ने उनको जोड छ।

​‘सतार होइन, सन्थाल’ भन्ने आवाज केवल नामको विषय मात्र नभई जातीय पहिचान, आत्मसम्मान र अधिकारसँग जोडिएकाले सरकारी तथा सामाजिक क्षेत्रमा सही नामको प्रयोग सुनिश्चित हुनुपर्ने र समुदायलाई अपमानित गर्ने व्यवहार अन्त्य हुनुपर्ने उनको माग छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)