समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

झापामा बिदाको दिन विशेष सेवा दशैं मनाएर कर्मक्षेत्र फर्किनेका लागि

झापा । दशैं मनाएर आफ्नो कर्मक्षेत्र तथा काठमाडौँ फर्किने सेवाग्राहीलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय झापाले भोलि (कार्तिक ८ गते) बिदाको दिनसमेत विशेष सेवा प्रदान गर्ने भएको छ।

​अति नै अत्यावश्यक परी काठमाडौँ वा आफ्नो कार्यक्षेत्र नफर्की नहुने झापाली नागरिकहरूका लागि एक दिने विशेष सेवा सञ्चालन गर्न लागिएको झापाका प्रमुख जिल्ला अधिकारी (सिडियो) श्रवणकुमार पोखरेलले जानकारी दिएका छन्।

​प्रजिअ पोखरेलका अनुसार बिदाको दिन उपलब्ध सीमित जनशक्तिबाटै सेवा प्रवाह गर्नुपर्ने भएकाले राष्ट्रिय परिचयपत्र (एनआईडी) तर्फ १०० जना र राहदानी (पासपोर्ट) तर्फ ५० जनालाई मात्र नयाँ इनरोलमेन्ट (दर्ता) सेवा प्रदान गरिनेछ।

​विशेष सेवाअन्तर्गत राष्ट्रिय परिचयपत्रका लागि आवश्यक सबै प्रमाण पुगेका सेवाग्राहीले सेवा पाउनेछन्। यस्तै राहदानीतर्फ भने राजस्वको डिजिटल पेमेन्ट (विद्युतीय भुक्तानी) गर्ने सुविधा भएका सेवाग्राहीलाई मात्र इनरोलमेन्ट गराइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

​इनरोलमेन्टका अलावा पूर्वतयारी भई कार्यालयमा आइसकेका राष्ट्रिय परिचयपत्रको कार्ड तथा प्रिन्ट भएर आएका राहदानी बुझिलिने (वितरण) सेवासमेत भोलि बिदाकै दिन उपलब्ध गराइने पोखरेलले बताए।

​प्रशासनले थोरै जनशक्तिबाट सीमित कोटामा यो विशेष सेवा दिन लागिएकाले साँच्चै अति आवश्यक परेका सेवाग्राहीलाई मात्र उपस्थित भई सेवा लिन आग्रह गरेको छ। पर्सि कार्तिक ९ गतेदेखि कार्यालयबाट साबिकबमोजिम नै नियमित सेवा प्रवाह हुने भएकाले सोहीअनुसार व्यवस्था मिलाउनसमेत सर्वसाधारणलाई अनुरोध गरिएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)