दोहा (कतार) — नेपाल प्रवासी सन्थाली राहत कोष झापा–मोरङ–सुनसरीले चौथो वार्षिकोत्सव तथा बडादसैँको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । कतारस्थित ग्रान्ड मल प्लाजामा रहेको वेलफेयर रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।
कोषका अध्यक्ष लुखिराम टुडुको अध्यक्षतामा आयोजित कार्यक्रममा कतारमा कार्यरत झापा, मोरङ र सुनसरीका सन्थाल समुदायका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न कलाकारहरूले सन्थाली तथा नेपाली लोकसांगीतिक एवं सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए । कलाकारहरूको आकर्षक प्रस्तुतिले प्रवासमा रहेका नेपालीहरूलाई चाडपर्वको माहोल र घरदेशको अनुभूति गराएको आयोजकले जनाएका छन् ।
सो अवसरमा सहभागीहरूले एकआपसमा बडादसैँको शुभकामना साटासाट गर्दै प्रवासमा पनि आपसी सद्भाव, एकता र भाइचाराको सन्देश प्रवाह गरेका थिए । उपाध्यक्षद्वय सरु टुडु र लोक थापाले संयुक्त रूपमा सञ्चालन गरेको उक्त कार्यक्रममा प्रवासमा सन्थाल समुदायको हकहित र सामाजिक कार्यबारे चर्चा गरिएको थियो ।
नेपाल प्रवासी सन्थाली राहत कोषले वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका सन्थाल समुदायबीच एकता, सहकार्य र आपसी सहयोगको भावना अभिवृद्धि गर्दै विभिन्न सामाजिक सेवाका क्षेत्रमा क्रियाशील रहँदै आएको छ । संस्थाको चौथो वार्षिकोत्सवका अवसरमा आयोजित यस कार्यक्रमले सन्थाल समुदायको सांस्कृतिक पहिचान र जातीय एकतालाई प्रवासमा थप मजबुत बनाउन टेवा पुर्याउने विश्वास लिइएको छ ।
