कात्तिक , ८ कात्तिक २०८३ । नेपालीहरूको महान् चाड बडादशैं आज (आइतवार) कोजाग्रत पूर्णिमाको विधिपूर्वक पूजाअर्चना तथा रात्रिकालीन जाग्राम बसेर औपचारिक रूपमा समापन हुँदैछ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापनाबाट सुरु भएको १५ दिने नवरात्र एवं बडादशैं पर्व आज पूर्णिमा तिथिमा महालक्ष्मीको आराधना गर्दै बिट मार्न लागेको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज साँझ धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको विशेष पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परा रहेको जनाएको छ।
धार्मिक विश्वासअनुसार, कोजाग्रत पूर्णिमाको रात महालक्ष्मी पृथ्वी भ्रमणमा निस्कने र जाग्राम बसेका मानिसहरूका घरमा प्रवेश गरी धन, ऐश्वर्य र समृद्धि प्रदान गर्ने जनविश्वास छ। विजयादशमीका दिनदेखि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम पनि आजै पूर्णिमासँगै पूर्ण रूपमा बन्द हुनेछ। साथै, दशैंघर तथा पूजाकोठामा राखिएका जमरालाई नजिकैका नदी, तलाउ, पोखरी वा पवित्र तीर्थस्थलमा लगेर विसर्जन गर्ने परम्परा छ।
’कौमुदी पूर्णिमा’ का रूपमा समेत चिनिने यस दिन महालक्ष्मीको पूजाका साथै हात्तीमा सवार इन्द्रदेवको पूजा गर्ने र राति जुवा खेल्ने सांकेतिक परम्परा रहेको समितिले बताएको छ। बडादशैं समाप्त भएलगत्तै नेपाली धार्मिक परम्पराअनुसार कार्तिक स्नान, तुलसीको विशेष पूजा-आराधना तथा आकाशदीपदान भने भोलि कात्तिक ९ गते सोमबारदेखि सुरु हुनेछ।
