झापा । बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालका केही स्थानमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् ।
मौसमविद् विनोद पोखरेलका अनुसार आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा देशका केही स्थानमा कुल २०० मिलिमिटरभन्दा बढी पानी पर्न सक्ने सम्भावना रहेको छ । ‘पूर्वानुमानले आगामी अवधिमा केही स्थानमा कुल वर्षा २०० मिलिमिटरभन्दा बढी हुन सक्ने संकेत गरेका छन्,’ पोखरेलले भने, ‘यसको अर्थ एकै दिनमा त्यति धेरै वर्षा हुन्छ भन्ने होइन । तर, वास्तविक वर्षाको मात्रा, समय र प्रभावित क्षेत्र अझै परिवर्तन हुन सक्छन् ।’
अहिले धान काट्ने र भित्र्याउने मौसम हुनाका साथै हिमाली क्षेत्रमा पदयात्रा (ट्रेकिङ) को उपयुक्त समय रहेकाले यस मौसमी प्रणालीको असर गम्भीर हुन सक्ने मौसमविद्हरूको भनाइ छ । मौसमविद् पोखरेलले उच्च हिमाली क्षेत्रमा भारी हिमपात, अत्यधिक चिसो र हिमपहिरोको जोखिम बढ्न सक्ने भन्दै पछिल्लो मौसमी सूचना जाँच गरेर मात्रै यात्राको योजना बनाउन आग्रह गरेका छन् ।
यो मौसमी प्रणाली सन् २०१४ अक्टोबर १४ मा अन्नपूर्ण क्षेत्रमा आएको बिनाशकारी हिमआँधीको अवस्थासँग केही हदसम्म मिल्दोजुल्दो रहेको पोखरेलले बताए । उक्त घटनामा ४३ जनाले ज्यान गुमाएका थिए । चक्रवातसँग सम्बन्धित न्यून चापीय प्रणाली नेपालतर्फ नजिकिएर माथिल्लो वायुमण्डलको प्रणालीसँग अन्तरक्रिया गरेमा भारी वर्षा र हिमपातको सम्भावना झनै बढ्नेछ ।
सोमबारसम्म चक्रवातमा परिणत हुने सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान बंगालको खाडीको पूर्वमध्य भाग तथा आसपासको दक्षिणपूर्वी क्षेत्रमा न्यून चापीय प्रणाली विकसित भएको छ । उक्त प्रणाली क्रमशः शक्तिशाली हुँदै सोमबारसम्म चक्रवाती आँधीमा परिणत हुनेछ ।
त्यसपछि यो प्रणाली पश्चिम-उत्तरपश्चिम दिशातर्फ अघि बढेर भारतको उत्तरी आन्ध्र प्रदेश तथा दक्षिणी ओडिशाको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ ।
विभागका अनुसार यस प्रणालीले आगामी बुधबार (अक्टोबर २८) देखि आइतबार (नोभेम्बर १) सम्म नेपालको मौसममा प्रभाव पार्न सक्नेछ ।
‘नेपालमा कति वर्षा हुन्छ र जोखिमको स्तर कस्तो रहन्छ भन्ने कुरा अहिले नै निश्चित भन्न सकिने अवस्था छैन,’ विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘तर प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सम्बन्धित सबै पक्षलाई पूर्वतयारी र सतर्कता अपनाउन अनुरोध गरिन्छ ।’
यस मौसमी प्रणालीका कारण आगामी एक सातामा देशका विभिन्न भागमा अधिकतम तथा न्यूनतम तापक्रममा समेत गिरावट आउने विभागले जनाएको छ ।
