समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

सुरक्षा निकायकै संरक्षणमा झापाको कचनकवल र हल्दीबारी तस्करको ट्रान्जिट हब: प्रहरी र सशस्त्र शङ्काको घेरामा

बिर्तामोड । झापाको दक्षिणी सिमानास्थित कचनकवल गाउँपालिका र हल्दीबारी क्षेत्र पछिल्लो समय अवैध तस्करी र लागूऔषध कारोबारको मुख्य ‘ट्रान्जिट पोइन्ट’ बन्दै गएको छ। स्थानीय प्रहरी र सशस्त्र प्रहरीकै प्रत्यक्ष संलग्नता तथा संरक्षणमा दिनदहाडै करोडौँ मूल्यका अवैध सामग्रीहरू भित्रिरहेको गम्भीर तथ्य बाहिर आएको छ।

​कचनकवल गाउँपालिकाको घेराबारी र पथरिया क्षेत्र हुँदै दैनिक रूपमा लाखौँ रुपैयाँ मूल्यका अवैध सामग्रीहरू बेरोकटोक भित्रिने गरेको स्थानीय बासिन्दाले बताएका छन्। सीमा सुरक्षा बल (बीओपी) घेराबारी र केचनाबाट जम्मा ५०० मिटरको दूरीमा रहेका नाकाहरूबाटै लत्ताकपडा, सुर्तीजन्य पदार्थ, हार्डवेयरका सामान र सीमावर्ती भारतीय बजारका अवैध सामग्रीहरू छ्यापछ्याप्ती भित्रिरहेका छन्।

​प्रहरीकै स्कटिङमा तस्करीको लाइन

झापाका अन्य नाकाहरूमा प्रशासनले कडाइ गरे पनि दक्षिणी भेगमा भने सुरक्षा निकायको मिलेमतोमा तस्करी मौलाएको आरोप लागेको छ। प्रहरी तथा सशस्त्र प्रहरीको प्रत्यक्ष संलग्नता वा मौन स्वीकृतिमा प्रत्येक दिन तस्करहरूले जलथल जङ्गल र अधिकारी चोक हुँदै विभिन्न स्थानमा सामान पुर्‍याउने र त्यहाँबाट सुरक्षित स्थानमा थन्काउने गरेका छन्।

​नाम नखोल्ने सर्तमा एक स्थानीय बासिन्दाले भने, “झापाका अन्य ठाउँमा सुरक्षा कडा पारिए पनि दक्षिणी भेगबाट प्रत्येक दिन राजस्व छलेर ल्याइएका मालसामानहरू प्रहरी प्रशासनकै स्कटिङमा सिधै बिर्तामोडसम्म पुर्‍याउने गरिएको छ।”

​तिहारलाई लक्ष्य गर्दै पटकाको अवैध आयात

नजिकिँदै गरेको तिहार पर्वलाई मध्यनजर गर्दै अहिले यस क्षेत्रबाट लाखौँ मूल्यका अवैधानिक पटका तथा विस्फोटक सामग्रीहरू भित्रिने क्रम बढेको छ। हल्दीबारीको जलथल हुँदै बिर्तामोड लगायत झापाका मुख्य बजारहरूमा यी सामग्रीहरू पुर्‍याउने गिरोहमा सशस्त्र र नेपाल प्रहरीकै केही अधिकारीहरूको प्रत्यक्ष संलग्नता रहेको खुल्न आएको छ।

​लागूऔषधको अखडा बन्दै जलथल क्षेत्र

तस्करीको यो ‘रुट’ केवल राजस्व छलीका सामानमा मात्र सीमित छैन। यसै क्षेत्रबाट प्रतिबन्धित भारतीय औषधि तथा लागूऔषधहरू समेत नेपाल भित्रिने गरेको पाइएको छ। जलथल र कचनकवलका केही स्थानीय व्यवसायीहरूको समेत मिलेमतोमा यी लागूऔषधहरू युवापुस्तालाई लक्षित गरी बिक्री वितरण भइरहेको बलियो शङ्का गरिएको छ।

​सीमा सुरक्षाको जिम्मा पाएका सुरक्षाकर्मीहरू नै तस्करका संरक्षक बनेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। यस विषयमा सम्बन्धित निकाय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय झापाको गम्भीर ध्यान जानुपर्ने देखिन्छ ।

AI बाट निर्मित सांकेतिक तस्बिर

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)