समाचार
हल्दिबारी संवाददाता ५६ मिनेट अगाडि

” हाम्रो जस्तै पीडा कसैले भोग्नु नपरोस्” : इन्द्र प्रसाद ओली


रति (नाम परिवर्तन) सानैदेखि प्रतिभाको उज्यालो थिए। पढाइमा अब्बल, सपनामा आकाश जस्तै फराकिला। विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि विदेश गएर उच्च शिक्षा हासिल गर्ने रहर उनको आँखामा बसिसकेको थियो। विशेषतः अमेरिकामा एम.एस्सी अध्ययन गर्ने चाहना उनको जीवनको सबैभन्दा ठूलो लक्ष्य बनेको थियो। त्यो सपना रोक्ने साहस न त हामी आमा, बुबामा थियो, न त रोक्नु नै न्यायोचित लाग्यो।
म नेपाल सरकारको उच्च पदबाट हालै अवकाश पाएको व्यक्ति, श्रीमती काठमाडौँको प्रतिष्ठित क्याम्पसमा अध्यापनरत। हाम्रो चाहना सरल थियो, छोरालाई नेपालमै राम्रो शिक्षा दिएर सम्मानजनक जीवनतर्फ अघि बढाउने। किनकि रति हाम्रो एकमात्र सन्तान थिए, आशा, भरोसा र भविष्यको सम्पूर्ण केन्द्र।
तर उमेरको हठ र साथीभाइको प्रभाव अगाडि हाम्रो सल्लाह कमजोर बन्यो। एक दिन रतिले साथीहरूसँग मिलेर अमेरिका जाने अन्तिम निर्णय सुनाए। केही समयमै भिसा लाग्यो, प्रक्रिया पूरा भयो, र हाम्रो मुटुको टुक्रा हजारौँ माइल टाढा उड्यो।
सुरुका दिनहरूमा फोन र सन्देश आउँथे। आवाज सुन्दा ढुक्क हुन्थ्यो, छोरो ठीक छ भन्ने विश्वासले मन थाम्थ्यो। तर समयसँगै संवाद पातलिँदै गयो। एक दिन, दुई दिन, चार महिना बितिसक्दा पनि रतिको कुनै खबर आएन।
त्यही मौनतालाई चिर्दै एक दिन अपरिचित नम्बरबाट फोन आयो,
“के तपाईं रतिको बुबा बोल्दै हुनुहुन्छ?”
ती शब्दले मुटु चिसियो। काँपेको स्वरमा “हो” भनेँ। फोन गर्ने व्यक्ति रतिको साथी सञ्जय रहेछन्।
त्यसपछि सुनेका प्रत्येक शब्द हाम्रो जीवनमा वज्रपात बने। रति चार महिनादेखि कलेज गएको छैन, काम छोडेको छ, र गहिरो दुर्व्यसनको दलदलमा फसेको छ। छेउमै बसेकी श्रीमतीका आँखा रसाए, शब्द हराए, केवल मौन रोदन बाँकी रह्यो।
सञ्जयले सकेसम्म उपचार र सहयोग गरेको, धेरै खर्च गरेको, तर अवस्था नियन्त्रणबाहिर गएको बताए। हामी एक, अर्काको अनुहार हेरेर रुँदै बस्नु बाहेक केही गर्न सकेनौँ।
अन्ततः अनेक संघर्षपछि छोरालाई नेपाल फर्कायौँ। हाम्रो अगाडि उभिएको शरीर रतिकै थियो, तर आत्मा, चेतना र जीवनशक्ति कतै हराएजस्तो लाग्थ्यो।
एक शुभचिन्तकको सुझावमा हामी चेतना नेपाल पुग्यौँ। त्यहाँको सहयोगमा रतिलाई उपचार केन्द्रमा भर्ना गरियो। परामर्शकर्ताले दिएको जानकारीले हाम्रो हृदय झन् चिराचिरा भयो, रति कक्षा १० देखि नै नशाजन्य पदार्थको सिकार बनेको रहेछ।
हाम्रो एकमात्र सन्तान, हाम्रो सम्पूर्ण भरोसा, तर उसको पीडाको गहिराइ हामीले कहिल्यै नाप्न सकेनौँ।
आज हामीलाई गहिरो पश्चात्ताप छ। कतै न कतै हामी चुक्यौँ। भौतिक सुविधा त प्रशस्त दिएछौँ, तर समय दिन सकेनछौँ। नजिकबाट बुझ्न सकेनछौँ। संवाद, संस्कार र संवेदनशीलताको अभाव रहेछ। दुर्व्यसनबारे परामर्श र दिव्य दृष्टि पुस्तक अध्ययन गरेपछि मात्र आफ्नै कमजोरी स्पष्ट देख्न थाल्यौँ।
यो लेख केवल हाम्रो व्यक्तिगत पीडाको कथा होइन यो हरेक आमा, बुबाका लागि चेतावनी हो।
हामीले भोगेजस्तो दुर्दशा कुनै पनि अभिभावकले भोग्नु नपरोस्। लागू औषध दुर्व्यसनभन्दा घातक अर्को शत्रु छैन। समयमै सचेत नहुने हो भने यसले सपना मात्र होइन, परिवार र जीवन नै उजाडिदिन्छ।
के सोचेका थियौँ, के भयो! तर अझै पनि आशा मरेको छैन। सचेतना, संवाद र समयमै हस्तक्षेपले मात्र परिवर्तन सम्भव छ।

✍️ इन्द्र प्रसाद ओली
केन्द्रीय अध्यक्ष / प्रमुख प्रशिक्षक
चेतना नेपालपरामर्श केन्द्र विर्तामोड ४ झापा

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)