तमघास (गुल्मी) । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा सोमबार दिउँसो स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो।
दुर्घटनामा स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय चालक दिलिप कुमार बगाले, वालिङ–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सिता पाण्डे र कुलानन्द पाण्डेको मृत्यु भएको छ। यस्तै, दुर्घटनामा गम्भीर घाइते भएकी निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकहरूमध्ये लोकनाथ र सिता हाल वालिङमा बस्दै आएका थिए भने कुलानन्द बुटवलको खैरेनीमा बस्दै आएका थिए।
दुर्घटनामा गुल्मी कालीगण्डकी–१ सिरकोटका छविलाल पाण्डे, गोमता पाण्डे र स्याङ्जा वालिङ–१० का बालकृष्ण सुवेदी घाइते भएका छन्। घाइतेमध्ये छविलाललाई मिर्मीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको छ। उनको अवस्था गम्भीर रहेको छ।
यस्तै, पाल्पास्थित मिसन अस्पतालमा उपचाररत गोमता र पोखरास्थित मणिपाल शिक्षण अस्पताल रेफर गरिएका बालकृष्णको अवस्था भने मध्यम रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
