झा। नेपाली कामदार मलेसियामा वैदेशिक रोजगारीमा जाने विषयमा देखिएका पछिल्ला गतिरोध र अन्योललाई स्थायी रूपमा सुल्झाउनका लागि नेपाल सरकारले दुईपक्षीय वार्ताको पहल थालेको छ। दुई देशबीच गठित ‘जोइन्ट वर्किङ ग्रुप’ (जेडब्ल्यूजी) को बैठक काठमाडौँमै आयोजना गर्ने गरी नेपालको युवा, श्रम तथा रोजगार मन्त्रालयले आगामी नोम्बर १८ र १९ तारिख वा डिसेम्बर २ र ३ तारिखमध्ये जुन मिति उपयुक्त हुन्छ, त्यसैमा वार्ता गर्न मलेसिया सरकारसमक्ष औपचारिक प्रस्ताव पठाएको हो। परराष्ट्र मन्त्रालयमार्फत पठाइएको सो प्रस्तावको हाल जवाफको प्रतीक्षा भइरहेको र मलेसियाको अनुकूलताअनुसार काठमाडौँमा बैठक बसी समस्याको समाधान खोजिने मन्त्रालयका सहायक प्रवक्ता जगदीश पराजुलीले जानकारी गराएका छन्।
नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिको विषयमा विवाद उत्पन्न हुनुको प्रमुख कारण मलेसियाको ‘फोरन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लूसीएमएस) ले अपनाएको नीति हो। मलेसियाली प्रणालीले नेपालका सीमित २५ वटा म्यानपावर एजेन्सीलाई मुख्य र २५० वटालाई सहायक एजेन्सीका रूपमा छनोट गरेपछि नेपाल सरकार र नेपाली व्यवसायीहरूले यसप्रति कडा आपत्ति जनाउँदै आएका छन्। नेपालको संवैधानिक व्यवस्था र वैदेशिक रोजगार ऐनअनुसार दर्ता भई अनुमति पाएका सबै म्यानपावर कम्पनीहरूले विभेदविना कामदार पठाउन पाउनुपर्ने मान्यता रहँदै आएको छ। तर निश्चित कम्पनीहरूलाई कुन मापदण्डका आधारमा छानियो भन्नेबारे नेपालले पठाएका कूटनीतिक नोटहरूको मलेसियाबाट स्पष्ट जवाफ नआएपछि प्रत्यक्ष वार्ताकै माध्यमबाट समस्या सल्टाउन नेपाल अग्रसर भएको हो।
यसैबीच श्रम तथा आप्रवासनका अनुसन्धानकर्ता जीवन बानियाँले मलेसियासँग हुने वार्तामा नेपालले आफ्ना कानुनी प्रावधान र अडानहरू स्पष्ट रूपमा राख्नुपर्ने आवश्यकता औँल्याएका छन्। मलेसियाले नेपालका अतिरिक्त भारत, बाङ्ग्लादेश र श्रीलङ्का जस्ता अन्य कामदार आपूर्तिकर्ता मुलुकहरूमा पनि यस्तै प्रणाली लागू गरेकाले नेपाल एक्लैले वार्ता गर्नुभन्दा श्रम पठाउने अन्य राष्ट्रहरूसँग समेत बहुपक्षीय समन्वय र साझा रणनीति बनाएर प्रस्तुत हुनु बढी प्रभावकारी हुने उहाँको भनाइ छ। हाल मलेसियामा अनुमानित ३ देखि ४ लाख नेपाली कामदारहरू कार्यरत रहेको अवस्थामा संयुक्त अरब इमिरेट्स र साउदी अरेबिया जस्तै मलेसिया पनि नेपालीका लागि प्रमुख वैदेशिक रोजगारीको गन्तव्य रहेकाले यो वार्ता र त्यसको नतिजालाई निकै महत्त्वपूर्ण मानिएको छ।
