समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

अर्जुनधारामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सर्‍यो, अब मंसीर ११ देखि हुने

झापा, १३ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकामा कात्तिक १३ गतेदेखि सञ्चालन हुने भनिएको वडास्तरीय पुरुष भलिबल प्रतियोगिता मौसमी प्रतिकूलता तथा प्राविधिक कारणले स्थगित भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा हुने सो प्रतियोगिता अब आगामी मंसीर ११, १२ र १३ गते सञ्चालन हुनेछ।

​नगरका ११ वटै वडाका टोलीहरू सहभागी हुने उक्त प्रतियोगिता अर्जुनधारा–६ स्थित लक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन गर्ने तय भएको छ। नगर खेलकुद विकास समितिको आयोजना तथा अर्जुनधारा नगरपालिका वडा नं. ६ को कार्यालयको सह-आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

​नेपालमा पछिल्लो समय देखिएको मौसमी परिवर्तन र प्राविधिक समस्याका कारण पूर्वनिर्धारित कात्तिक १३ देखि १५ गतेसम्मको तालिका परिवर्तन गर्नुपरेको आयोजकले जनाएको छ।

​प्रतियोगितामार्फत नगरस्तरमा भलिबल खेलको विकास गर्ने, स्थानीय खेलप्रतिभाको पहिचान गर्ने तथा नगरको प्रतिनिधित्व गर्न सक्ने प्रतिस्पर्धी टोली निर्माण गर्ने लक्ष्य राखिएको नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए।

​नेपाल भलिबल सङ्घको नियमअनुसार खेलाइने प्रतियोगितामा प्रत्येक टोलीमा १२ जना खेलाडी रहनेछन्। फाइनलबाहेकका अन्य खेलहरू ‘बेस्ट अफ थ्री’ र फाइनल खेल ‘बेस्ट अफ फाइभ’ का आधारमा सञ्चालन हुनेछन्।

​प्रतियोगिताको विजेताले ५१ हजार रुपैयाँ, उपविजेताले ३१ हजार रुपैयाँ र तृतीय हुने टोलीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ ले १ हजार ५ सय रुपैयाँ पाउनेछन्।

​व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई ४ हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, सेटर, मिडल ब्लकर, उदयमान खेलाडी, प्रशिक्षक, डिफेन्डर र सर्भरलाई जनही २ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ।

​प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगर खेलकुद विकास समितिका सदस्यसचिव खगेन्द्र लिङ्देनले जानकारी दिए।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)