समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

भद्रपुरमा पहिलोपटक अन्तर्राष्ट्रिय हक्की प्रतियोगिता, तयारी पूरा

हल्दिबारी । झापाको भद्रपुरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। भारतीय टोलीसहितको यस्तो प्रतियोगिता नेपालमा पहिलोपटक आयोजना हुन लागेको हो।

​आयोजक भद्रपुर नगर हक्की सङ्घका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ। भद्रपुरको पुहाँतुबारीस्थित पुहाँतु जनज्योति माध्यमिक विद्यालयको खेल मैदानको स्तरोन्नति गरी प्रतियोगिताका लागि तयार पारिएको छ।

​भद्रपुर नगर हक्की सङ्घका प्रशिक्षक दिपक खतिवडाका अनुसार प्रतियोगितामा भारतका ३, नेपालका ३ विभागीय टोली, कोशी, गण्डकी र कर्णाली प्रदेश तथा आयोजक गरी कुल १० टोलीको सहभागिता रहनेछ।

​१० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ:

  • ​समूह ‘ए’: आयोजक, सशस्त्र प्रहरी बल (एपिएफ), बोङगाई स्पोर्ट एकेडेमी (आसाम, भारत), गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब।
  • ​समूह ‘बी’: कोशी प्रदेश, नेपाल प्रहरी क्लब, कर्णाली प्रदेश, आरके रोय हक्की एकेडेमी (भारत) र वैसाली हक्की सङ्घ (भारत)।

​प्रतियोगिता कात्तिक १३ गते (बिहीबार) देखि सुरु हुनेछ। उद्घाटन खेलमा समूह ‘बी’ अन्तर्गत कोशी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। सोही दिनको दोस्रो खेलमा समूह ‘ए’ का त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्नेछन्।

​’फाइभ-एस’ मोडलमा आयोजना हुने यस प्रतियोगिताका विजेताले नगद २ लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले नगद १ लाख रुपैयाँ, ट्रफी र मेडल हात पार्ने भद्रपुर नगर हक्की सङ्घका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए। प्रतियोगिताको मुख्य प्रायोजक चन्द्रगढी सामुदायिक वन रहेको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)