झापा । लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि चेतना नेपाल परामर्श केन्द्रले सुरु गरेको महाअभियानमा झापाका थप दुई शिक्षण संस्थाले ऐक्यबद्धता जनाएका छन्। बिर्तामोड नगरपालिका–४ स्थित कञ्चनजङ्घा अंग्रेजी माध्यमिक विद्यालय र हल्दीबारी गाउँपालिका–३ स्थित चिल्ड्रेन गार्डेन एकेडेमीले यस अभियानमा आफ्नो सम्बद्धता प्रकट गरेका हुन्।
शिक्षण संस्थालाई कुलत र दुर्व्यसनमुक्त बनाउने लक्ष्यका साथ झापा जिल्लाका पहिलो चरणमा ४० वटा विद्यालयलाई नमुनाका रूपमा समाहित गर्न लागिएको चेतना नेपालका जनसम्पर्क अधिकारी प्रेमकुमार सेडाईंले जानकारी दिनुभयो। उहाँका अनुसार प्रत्येक विद्यालयमा विद्यार्थीहरूकै क्लब गठन गरी सचेतनामूलक तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै जाने योजना बनाइएको छ।
यस अभियानअन्तर्गत हालसम्म इस्टपोइन्ट अंग्रेजी मावि (भद्रपुर–४), ग्रीनफिल्ड अंग्रेजी मावि (भद्रपुर–२), प्रज्ञा एकेडेमी (भद्रपुर–१०), गोमेन्द्र मोडल अंग्रेजी मावि (बिर्तामोड–४) र वेल्स मोडल अंग्रेजी स्कुल (बिर्तामोड–७) गरी सातवटा विद्यालयले औपचारिक रूपमै ऐक्यबद्धता जनाइसकेका छन्। यसबाहेक अन्य छ वटा विद्यालयले पनि चेतना नेपालसँग समन्वय गरी चाँडै अभियानमा जोडिने प्रतिबद्धता व्यक्त गरेको सेडाईंले बताउनुभयो।
समाजमा भयावह रूपमा बढ्दै गएको लागुऔषध दुर्व्यसन कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई सबैको साझा समस्या भएकाले यसको न्यूनीकरणमा समाजका हरेक सरोकारवाला पक्ष र सचेत नागरिकको उत्तिकै भूमिका रहने विभिन्न विद्यालयका फाउन्डर तथा प्रिन्सिपलहरूले जोड दिएका छन्। कार्यक्रममा बोल्दै राजेन्द्रकुमार घिमिरे, सन्देश राई, यशुव पाण्डे, उत्तम खनाल, तारा प्रसाईं, डा. केशवप्रसाद न्यौपाने र दुर्गामणी गौतमले चेतना नेपालले दुई दशकभन्दा बढी समयदेखि हासिल गरेको ज्ञान र सीपलाई हरेक शिक्षण संस्था, विद्यार्थी र अभिभावकसम्म पुर्याउनुपर्ने धारणा राख्नुभयो।
अभियानका क्रममा चेतना नेपालका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद ओली, कोषाध्यक्ष देवीभक्त आचार्य, कार्यकारी प्रमुख कल्पना भट्टराई र जनसम्पर्क अधिकारी प्रेमकुमार सेडाईंको उपस्थिति रहेको थियो। सोही क्रममा भद्रपुर–७ निवासी सेविका माया गौतम र दर्शन भट्टराईले संस्थाको अक्षयकोष सदस्यता ग्रहण गर्नुभएको छ भने स्थानीय व्यक्तिहरूसँग दुर्व्यसन न्यूनीकरणका विषयमा अन्तरक्रियासमेत गरिएको कोषाध्यक्ष आचार्यले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै संस्थाकी कार्यकारी प्रमुख कल्पना भट्टराईले विद्यालय परिवार, नयाँ सदस्यहरू तथा छलफलमा सहभागी सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले प्राप्त अमूल्य सुझाव र सल्लाहलाई संस्थाले मार्गदर्शनका रूपमा लिँदै पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सबैको ऐक्यबद्धता र सहकार्यबाट मात्रै दुर्व्यसनमुक्त र सीपयुक्त समाज निर्माण गर्न सकिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो।
