झापा । जंगली हात्तीको आक्रमणबाट शुक्रबार बिहान झापाको बुद्धशान्ति गाउँपालिकामा एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार बुद्धशान्ति गाउँपालिका–२ स्थित साम्पाङ्ग टोलको भित्री सडक खण्डमा बिहान करिब ६:१० बजे सोही वडाको बिहानी टोल निवासी ५६ वर्षीय डिल्ली बहादुर पौडेललाई जंगली हात्तीले आक्रमण गरेको हो। घरबाट बुधबारे बजारतर्फ जाँदै गर्दा बाटोमा निस्किएको एउटा जंगली हात्तीले उनलाई आक्रमण गरेको प्रशासनले जनाएको छ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका पौडेललाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी (B&C) अस्पताल पठाइएको छ। आक्रमणपछि उक्त हात्ती नजिकैको तिनतले सामुदायिक वनतर्फ पसेको बताइएको छ।
जिल्लामा पछिल्लो समय जंगली हात्तीको गतिविधि बढ्दै गएकाले हात्ती प्रवेश गर्ने मार्ग तथा सामुदायिक वन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय झापाले आग्रह गरेको छ। स्थानीय बासिन्दालाई सचेत गराउन सुरक्षा निकायमार्फत प्रभावित क्षेत्रमा माइकिङ भइरहेको प्रशासनले जनाएको छ।
यसैगरी, सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सामुदायिक वनका पदाधिकारीहरूलाई वन हेरालुसहितको संयन्त्र परिचालन गरी हात्तीको गतिविधि निगरानी गर्न, स्थानीयलाई सचेत गराउन र सुरक्षा निकायलाई तत्काल सूचना प्रवाह गर्न प्रशासनले अनुरोध गरेको छ। साथै, डिभिजन वन कार्यालय, स्थानीय तह, जनप्रतिनिधि तथा सरोकारवाला सबै निकायलाई आ–आफ्नो क्षेत्रबाट समन्वय र सहकार्य गरी क्षति न्यूनीकरणमा योगदान पुर्याउनसमेत जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ।
