झापाको हल्दीबारी गाउँपालिकामा पछिल्लो समय छठ पर्व केवल एउटा धार्मिक अनुष्ठान मात्र नरहेर सामाजिक सद्भाव, सांस्कृतिक एकता र आपसी सहअस्तित्वको अनुपम पर्वका रूपमा स्थापित हुँदै गएको छ। सूर्यदेव र छठी माताको उपासना गरि मनाइने यो पवित्र पर्व हल्दीबारीमा कसरी सुरु भयो र आज कुन रूपमा भव्यताका साथ मनािँदै छ !
झापाको हल्दीबारी गाउँपालिकामा छठ पर्वको इतिहास करिब ६ दशकभन्दा पुरानो छ। २०१८ सालमा यस क्षेत्रमा जम्मा चार वटा परिवारबाट सामान्य रूपमा सुरु गरिएको छठ पूजा आज आइपुग्दा यस क्षेत्रको एक बृहत् र साझा सांस्कृतिक महोत्सवको रूपमा परिणत भएको छ। सुरुवाती दिनमा सीमित परिवारले मात्र मनाउने यो पर्व आज हल्दीबारी गाउँपालिकाभित्र २०० परिवारभन्दा बढीले छठी माताको व्रत तथा पूजाअर्चना गर्ने गरेको पाइन्छ। सुरुमा मधेसी समुदायको मात्रै पर्वका रूपमा चिनिने छठ आज जातजाति, भाषा र समुदायको सीमा नाघेर सबैको साझा आस्थाको केन्द्र बन्न पुगेको छ। यसले नेपाली समाजको विविधतामा एकता र साम्प्रदायिक सद्भावको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
हल्दीबारी गाउँपालिकामा आज विभिन्न वडाका प्रमुख स्थानहरूमा भव्यताका साथ छठ पूजा हुँदै आएको छ। वडा नम्बर १, २ र ५ को संगम भुतिनी खोलामा काजली छठ पूजा समिति र स्थानीय युवाहरूको सक्रियताले विशेष रूपमा पूजा हुँदै आएको छ। काजली बजारका अगुवा सर्जु शाहका अनुसार २०१८ सालदेखि नै यस स्थानमा पूजा गरिँदै आएको हो र विगत १५ वर्षदेखि त स्थानीय युवाहरूको उच्च सक्रियतामा यहाँ भव्य सांगीतिक कार्यक्रमसहित छठ पूजाको आयोजना गरिँदै आएको छ। यसैगरी, वडा नम्बर ४ को पाथिभरा सिंहकाली धार्मिक पर्यटन क्षेत्रमा छठी माताको मन्दिर समिति नै स्थापना गरिएको छ जहाँ विगत पाँच वर्षदेखि विभिन्न सांस्कृतिक कार्यक्रमसहित यो क्षेत्र छठ पूजाको एक प्रमुख आकर्षक केन्द्रको रूपमा विकसित हुँदै आएको छ। वडा नम्बर २ र ३ को संगमस्थल घुटु देउनिया खोला, पार खुपी पूर्व देउने खोला र वडा नम्बर १ कै सापडिग्री खोलामा समेत भव्यताका साथ छठ पूजा सम्पन्न हुने गरेको छ। यी सम्पूर्ण पूजाहरूलाई भव्य रूपमा सम्पन्न गर्न गाउँपालिका, वडा कार्यालयहरू, स्थानीय समाजसेवी तथा विभिन्न दाताहरूबाट सहयोग प्राप्त हुने गरेको काजली छठपूजा व्यवस्थापन समितिका अध्यक्ष राजकिशोर शाह बताउँछन्। सबैको सहकार्य र आर्थिक–नैतिक सहयोगले नै यो पर्व हरेक वर्ष अझ भव्य बन्दै गएको छ।
सूर्य उपासनाको महान पर्व छठ मुख्यतया कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म विधिपूर्वक मनाइन्छ। यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ, जसले जीवनमा प्रकाश, ऊर्जा, स्वास्थ्य र सुदीर्घायुको कामना बोकेको हुन्छ। पहिलो दिन नहाय-खायबाट सुरु हुने यो पर्वमा ब्रतालुहरूले पवित्र स्नान गरी चोखो भोजन गर्छन्। दोस्रो दिन खरनामा दिनभर उपवास बसेर साँझ सजाइएको ठाउँमा खीर र रोटी चढाएर प्रसाद ग्रहण गरिन्छ र त्यसपछि ब्रतालुहरूको कठिन ३६ घण्टे निर्जला उपवास सुरु हुन्छ। तेस्रो दिन सझिया अर्घ्यमा बाँसको टोकरीमा ठेकुवा, फलफूल, भुसुवा आदि पूजासामग्री सजाय नदी वा तलाउको किनारमा गएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गरिन्छ र रातभर नदी किनारमै भजन-कीर्तन गरिन्छ। चौथो दिन भोरका अर्घ्यमा बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो कठिन र पवित्र पर्व सम्पन्न हुन्छ।
हल्दीबारी गाउँपालिकामा मनाइने छठ पर्वले धार्मिक पर्यटनको प्रवर्द्धन गर्नुका साथै स्थानीय बासिन्दाहरूबीचको सामाजिक सद्भावलाई बलियो बनाउन ठूलो भूमिका खेलेको छ। २०१८ सालको सानो झिल्कोबाट सुरु भएको यो आस्थाको दीप आज हल्दीबारीका प्रमुख स्थलहरूमा प्रज्वलित भएर सम्पूर्ण समुदायलाई एकसूत्रमा बाँधिरहेको छ।
