बाली थन्क्याउन्जेल थप सुरक्षाफौज परिचालन गरी हात्तीको प्रवेश नियन्त्रण गरिने
बाहुनडाँगी (झापा), कार्तिक २७
जङ्गली हात्तीको आक्रमणबाट एक स्थानीय घाइते भएपछि झापाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्रवणकुमार पोखरेलले बाहुनडाँगीका किसानलाई पाकेको बाली समयमै घर भित्र्याउन आग्रह गरेका छन्। बाली थन्क्याउन्जेलसम्म थप सुरक्षाफौज परिचालन गरी हात्तीको प्रवेश नियन्त्रण गरिने आश्वासनसमेत उनले दिएका छन्।
कार्तिक २७ गते बिहानै हात्तीको आक्रमणमा परी एक जना घाइते भएपछि प्रजिअ पोखरेलको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरूको टोलीले हात्ती प्रवेश गर्ने पूर्वी नाका बाहुनडाँगीको आकस्मिक स्थलगत निरीक्षण गरेको छ। टोलीमा नेपाली सेनाका प्रमुख सेनानी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) लगायतको सहभागिता थियो।
प्रजिअ पोखरेलसहितको सुरक्षा टोली भारततर्फबाट जङ्गली हात्ती प्रवेश गर्ने मुख्य बिन्दु बाहुनडाँगी पुग्दा स्थानीय जनप्रतिनिधि, संघसंस्था, डिभिजन वन कार्यालयका कर्मचारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रत्यक्ष निगरानीमा किसानहरू पाकेर पहेँलो भएको धानबाली धमाधम काट्ने र भित्र्याउने काममा जुटिरहेका थिए।
सो अवसरमा प्रजिअ पोखरेल र सुरक्षा प्रमुखहरूले खेतबारीमै पुगेर स्थानीय किसानसँग प्रत्यक्ष संवाद गरेका थिए। किसानहरूले कम्तीमा आगामी पाँच दिनसम्म हात्तीको प्रवेश रोक्न सके पाकेको सबै धानबाली सुरक्षित रूपमा घर भित्र्याउन सकिने भन्दै सुरक्षा प्रबन्ध मिलाइदिन माग गरेका थिए।
किसानको मागलाई तत्काल सम्बोधन गर्दै प्रजिअ पोखरेलले जिल्लाबाट अतिरिक्त सुरक्षा जनशक्ति खटाई स्थानीय समुदायसँगको सहकार्यमा हात्तीको प्रवेश नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई निर्देशन दिएका छन्।
स्थलगत अवलोकनपश्चात् स्थानीय वडाध्यक्ष अर्जुन कार्कीको पहलमा किसान, संघसंस्थाका प्रतिनिधि र सुरक्षा प्रमुखहरूबीच अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ। सोही क्रममा वडाध्यक्ष कार्कीको पहलमा उपलब्ध भएका टर्चलाइट र हाते माइक प्रजिअ पोखरेलले हात्ती नियन्त्रणका लागि खटिएको समर्पित सुरक्षा टोली (डेडिकेटेड टिम) लाई हस्तान्तरण गरे।
हाल बाहुनडाँगी क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी र स्थानीय युवा सम्मिलित संयुक्त टोली तयारी (स्ट्यान्डबाइ) अवस्थामा राखिएको छ। हात्ती प्रवेशको सूचना प्राप्त हुनासाथ उक्त टोली तत्काल परिचालन भई नियन्त्रणमा खटिने प्रशासनले जनाएको छ।
