समाचार
हल्दिबारी संवाददाता ४ घण्टा अगाडि

झापा सिडियो पोखरेलको सक्रियतामा बाहुनडाँगीमा धान काट्न खेतमै उत्रिए सुरक्षाकर्मी, स्थानीयद्वारा अभिनन्दन

हल्दिबारी । झापाको मुख्य हात्ती प्रभावित क्षेत्र मेचीनगर नगरपालिका–४ स्थित बाहुनडाँगीमा जंगली हात्तीबाट हुनसक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी (सिडियो) श्रवण कुमार पोखरेलको विशेष सक्रियतामा सुरक्षाकर्मीहरू किसानको खेतमै उत्रिएर धान काट्न सघाएका छन्। पाकेको धानबाली हात्तीको बथानले नष्ट गरिदिने त्रास बढेपछि प्रशासनको प्रत्यक्ष समन्वयमा सुरक्षाकर्मीले किसानसँग हातेमालो गरी बाली व्यवस्थापनमा सहजीकरण गरेका हुन्।

​यसअघि प्रजिअ पोखरेलले बाहुनडाँगीलगायत जिल्लाका हात्ती प्रभावित क्षेत्रका किसानहरूलाई समयमै धान काट्न सार्वजनिक आह्वान गरेका थिए। आह्वान मात्रमा सीमित नरही आफ्नै सक्रियतामा सुरक्षाकर्मीहरूलाई परिचालन गरी पाकेको बाली भित्र्याउने काममा प्रत्यक्ष सहजीकरण गरेपछि बाहुनडाँगीका किसान उत्साहित बनेका छन्। खेतमै खटिएर बाली जोगाउन मद्दत गरेको भन्दै स्थानीयवासीले सुरक्षाकर्मीहरूलाई अभिनन्दन समेत गरेका छन्।

​विपद्को जोखिमको समयमा स्थानीय नागरिक, जनप्रतिनिधि, स्थानीय संघसंस्था र सुरक्षाकर्मीहरूको संयुक्त सहभागितामा भएको यो कार्यलाई प्रजिअ पोखरेलले ‘उदाहरणीय अभ्यास’ का रूपमा लिएका छन्।

​‘विपद् र जोखिमका बेला सबै पक्षको सहकार्य र सामूहिक प्रयासले नै ठूलो क्षति रोक्न सकिन्छ,’ प्रजिअ पोखरेलले भने, ‘जनताको पसिना र अन्नबाली जोगाउन स्थानीय प्रशासन र सुरक्षा निकाय सधैं नागरिकको साथमा छ।’

​प्रशासन, सुरक्षा निकाय र समुदायबीचको यो आत्मीय सहकार्यले वर्षेनी हात्तीको आतंक झेल्दै आएका बाहुनडाँगीवासीलाई ठूलो राहत मिल्नुका साथै नागरिक–प्रशासन सम्बन्धलाई थप बलियो बनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)