समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

जन्मदिनको फजुल खर्च कटाउँदै भीम पौडेलले गरे चार विपन्न परिवारलाई खाद्यान्न सहयोग

झापा । जन्मदिनलाई केक काट्ने र तडकभडकपूर्ण उत्सव मनाउने दिनमा मात्र सीमित नराखी झापाका एक युवाले मानवीय सेवामा रूपान्तरण गरेका छन्। कमल गाउँपालिका–६ निवासी युवा भीम पौडेलले आफ्नो जन्मदिनको अवसर पारेर सोही क्षेत्रका चार विपन्न तथा समस्यामा परेका परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका हुन्।

​पौडेलले कमल–६ निवासी एकल महिला तथा प्यारालाइसिसबाट प्रभावित सिजा दर्नालसहित चुड्के मुर्मु, राम ग्वाल र अमन यादवको परिवारलाई चामल, नुन, तेललगायतका दैनिक उपभोग्य खाद्यान्न सामग्री हस्तान्तरण गरेका छन्। व्यक्तिगत खुसीलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै अभावमा रहेका परिवारलाई थोरै भए पनि राहत पुर्‍याउने उद्देश्यले सहयोग गरिएको पौडेलले बताए।

​कार्यक्रममा बोल्दै दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले जन्मदिनको अवसरलाई मानवीय सेवासँग जोड्ने पौडेलको प्रयास प्रशंसनीय रहेको बताए। यस्ता कार्यले समस्यामा रहेका परिवारलाई तत्काल राहत दिनुका साथै समाजका अन्य व्यक्तिलाई पनि सेवाभाव र परोपकारका कार्यमा प्रेरित गर्ने उनको भनाइ थियो।

​खाद्यान्न हस्तान्तरण कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल ३२५ सीका गभर्नर लीला चिमरिया, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, पहिलो पाइला नेपालका सल्लाहकार गणेश प्रधान, विवेक बजगाईं, पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला, कमल शाखाका अध्यक्ष सञ्जु निरौला, युवराज भट्टराईलगायत लायन्सकर्मी तथा पहिलो पाइला नेपाल कमल शाखाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

​बढ्दो आधुनिकतासँगै जन्मदिनमा अनावश्यक खर्च गर्ने होडबाजी चलिरहेका बेला अभावमा रहेका परिवारको मुहारमा खुसी थप्ने पौडेलको यो प्रयासले समाजमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको संस्कारलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)