समाचार
हल्दिबारी संवाददाता १३ घण्टा अगाडि

स्थानीय तह निर्वाचनको मिति तोक्ने तयारीमा सरकार

झापा । सरकारले आगामी स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी अगाडि बढाएको छ । निर्वाचन आयोगको परामर्शपछि सरकारले मिति तय गर्न आन्तरिक गृहकार्य थालेको हो ।

​स्थानीय तह निर्वाचन ऐनअनुसार बहालवाला जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगावै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । २०७९ वैशाखमा सम्पन्न निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरूले सोही वर्षको जेठ ५ गतेदेखि कार्यभार सम्हालेका थिए । सोही मितिलाई आधार मान्दै आयोगले आगामी चैत ५ गतेभित्र निर्वाचन सम्पन्न गर्न सकिने गरी सरकारलाई परामर्श दिएको छ ।

​निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तह निर्वाचनका लागि उपयुक्त मितिसहितको सुझाव सरकारलाई बुझाइसकिएको जानकारी दिए । ‘कानुनले निर्वाचन तयारीका लागि १२० दिन (चार महिना) को अवधि तोकेको छ,’ प्रवक्ता भट्टराईले भने, ‘जनप्रतिनिधिको कार्यकाल सकिनु दुई महिनाअगावै निर्वाचन गर्नुपर्ने भएकाले चैतको मिति सुझाएका हौँ । अब सरकारले उपयुक्त समयमा मिति घोषणा गर्नेछ ।’

​आयोगले सुझाएको समयसीमा अर्थात् चैत ५ भित्र निर्वाचन गर्न सरकारले मंसिर पहिलो साताभित्रै मन्त्रिपरिषद् बैठकबाट मिति घोषणा गरिसक्नुपर्नेछ । आयोगले यसअघि नै सरोकारवाला राजनीतिक दलहरूसँग छलफल गरी सरकारलाई राय पेस गरिसकेको छ ।

​राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फर्किएलगत्तै प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूसँग परामर्श गरी मन्त्रिपरिषद्बाट निर्वाचनको मिति टुंगो लगाउने तयारी गरिएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)