समाचार
हल्दिबारी संवाददाता ४७ मिनेट अगाडि

प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट, आसन्न भारत भ्रमणबारे विशेष छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच बुधबार शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटवार्तामा द्विपक्षीय हित, आपसी सम्बन्ध र प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका विषयमा केन्द्रित रहेर छलफल भएको हो ।

​भेटका क्रममा प्रधानमन्त्री शाहले नवनियुक्त राजदूत दलेलालाई नेपालका लागि राजदूत नियुक्त भई कार्यभार सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । साथै, उहाँले रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत प्रकट गर्नुभयो ।

​छलफलका क्रममा प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग विशेष चासो राख्नुभएको थियो । जवाफमा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । भ्रमणका एजेन्डा तय भइसकेको र यसलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी राजदूत दलेलाले प्रधानमन्त्रीलाई गराउनुभएको थियो ।

​भेटमा नेपाल र भारतबीच सदियौँदेखि रहिआएको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ र सुदृढ बनाउने विषयमा समेत विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)