काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचारमा संलग्न व्यक्ति र जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल कडा कारबाही हुनुपर्नेमा जोड दिएको छ। बिहीबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यसो निष्कर्ष निकालेको हो।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार, जेनजी विद्रोह र बलिदानपछि आन्दोलनका नेतृत्वकर्ताले मात्रै सरकार निर्माणमा ध्यान दिनुको सट्टा भ्रष्टाचारको जरोमै प्रहार गर्नु आवश्यक छ। उनले भने, “असफल संविधानलाई औचित्य ठहराउँदै मुलुकलाई अघि बढाउने प्रयास देशलाई असफलतामा धकेल्नसक्छ।”
लिङ्देनले देशमा थप धनजनको क्षति हुन नदिन, दीर्घकालीन द्वन्द्वबाट जोगाउन, भूराजनीतिक चक्रव्यूह र वैदेशिक हस्तक्षेपबाट रक्षा गर्न सबै राजनीतिक शक्तिहरूबीच नयाँ समझदारी आवश्यक रहेको बताए।
बैठकले जेनजी विद्रोहका दमनकारीमाथि तुरुन्त कारबाही, पूर्ण समानुपातिक संसद, सांसदलाई मन्त्री बन्न नपाउने व्यवस्था, र स्थानीय तह गैरदलीय हुने व्यवस्था लागू गर्नुपर्ने माग गरेको छ।
त्यस्तै, २०४६ पछि सबै उच्च पदस्थ नेता, कर्मचारी र तिनका आफन्तहरूको सम्पत्ति छानबिन गर्न, प्रदेश संरचना खारेजी, प्रधानमन्त्री दुई कार्यकालमात्र हुने व्यवस्था, राजसंस्था अविभावकीय संस्थाका रूपमा कायम राख्ने, र पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूराष्ट्र स्थापना गर्ने माग पनि बैठकले अघि सारेको छ।

















