स्वास्थ्य
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

महानगर प्रहरीको कठोरताले त्रिपुरेश्वरमा पठाओ चालकद्वारा आत्मदाह प्रयास, अवस्था चिन्ताजनक

काठमाडौं । ‘नियम मिच्नेलाई कारबाही गर्ने’ सरकारी निकायको कठोर रवैया र मानवीय संवेदनहीनताको एउटा विभत्स रूप बिहीबार मुलुकको राजधानीमै प्रकट भएको छ। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि नगर प्रहरीले आफ्नो मोटरसाइकल नियन्त्रणमा लिन खोजेपछि मुगुका २५ वर्षीय पठाओ चालक गणेश नेपालीले शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका छन्। ७० प्रतिशतभन्दा बढी शरीर जलेका नेपालीको वीर अस्पतालको अति सघन कक्ष (आईसीयू) मा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ।

​महानगरको ट्राफिक व्यवस्थापन र कानुनी शासनको नाममा भुइँमान्छेमाथि हुने निर्मम व्यवहारको यो अर्को चरम पराकाष्ठा हो। मुगु सोरु गाउँपालिका–१ का स्थायी बासिन्दा गणेश काठमाडौंमा पठाओ चलाएर आफ्नो गर्जो टार्दै आएका थिए। प्रत्यक्षदर्शीका अनुसार, राहदानी विभागको ३ नम्बर गेट अगाडि गुडिरहेको वाग्मती प्रदेश ०२–०६४ प ३२५० नम्बरको मोटरसाइकल रोकेको केही मिनेटमै नगर प्रहरीको टोली भ्यानसहित पुगेको थियो।

विज्ञापन (Advertisement)Advertisement

​नगर प्रहरीले ह्वील लक गरेर मोटरसाइकल भ्यानमा चढाउन लाग्दा गणेशले “बाइक नलैदिनू” भन्दै हात जोडेर अनुनय-विनय गरेका थिए। तर, नगर प्रहरीले उनको याचनालाई पूर्ण रूपमा बेवास्ता गर्दै जवर्जस्ती लछारपछार गर्‍यो। आफ्नै रोजीरोटीको माध्यम खोसिएपछि आक्रोश र निराशामा डुबेका गणेशले “बाइक नदिए आत्मदाह गर्छु” भन्दै चेतावनी दिएका थिए। सोही क्रममा उनले बोतलमा रहेको पेट्रोल आफ्नै शरीरमा खन्याएर आगो सल्काए।

​घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शीका अनुसार, युवक आगोको चपेटामा परेर सडकमा छटपटिँदा पनि उद्धारमा खटिनुपर्ने नगर प्रहरी मुकदर्शक बनेका थिए। उल्टै आगो लागेपछि हारगुहार गर्दै भ्यानतर्फ बढेका गणेशलाई रोकेर नगर प्रहरीको भ्यान कुदाउँदै राहदानी विभागभित्र छिरेको थियो। स्थानीय युवाहरूले नजिकैको पसलबाट जारको पानी खन्याएर आगो निभाएका थिए भने प्रहरीले उनलाई ट्याक्सीमा राखेर वीर अस्पताल पुर्‍याएको थियो।

​स्थानीय सरकार र नगर प्रहरी नागरिकको सेवक हुनुपर्नेमा, उनीहरूको कार्यशैली डर र त्रास फैलाउने खालको भएको भन्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन्। कानुनी परिपालना गराउने नाममा नागरिकलाई आत्महत्याको स्थितिमा पुर्‍याउने यस्ता घटनाले काठमाडौं महानगरपालिकाको मानवीय अनुहारमाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)