समाचार
जनक राजवंशी २ घण्टा अगाडि

हल्दीबारी गाउँपालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराइने

झापा — हल्दीबारी गाउँपालिकाले आफ्ना स्थायी बासिन्दाका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ। गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार यो योजना कार्यान्वयनका लागि बिहीबार गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाबीच औपचारिक सम्झौता भएको छ।

Advertisement

​सम्झौताअनुसार झापा जिल्लाभित्र हल्दीबारी गाउँपालिकाका बासिन्दाले रगत लिँदा लाग्ने प्रति युनिट १ हजार १ सय रुपैयाँ परीक्षण (प्रोसेसिङ) शुल्क गाउँपालिकाले नै व्यहोर्नेछ। यससँगै बिरामी वा तिनका आफन्तले रगतबापत कुनै शुल्क तिर्नुपर्ने छैन।
​रेडक्रस जिल्ला शाखाका कोषाध्यक्ष ओमप्रकाश गौतमका अनुसार यसअघि आर्थिक वर्ष २०८२/८३ मा मात्रै गाउँपालिकाका २ सय ३८ जना बासिन्दाले यो सुविधाअन्तर्गत निःशुल्क रगत प्राप्त गरिसकेका छन्।

Advertisement

​यसअघि आर्थिक वर्ष २०८०/८१ मा वडा नं. २ ले ५० हजार रुपैयाँको बजेट विनियोजन गरी वडावासीलाई रगत सेवा उपलब्ध गराउन सुरु गरेको थियो। त्यसैको निरन्तरता स्वरूप गाउँपालिकाले नै नीति तथा कार्यक्रममार्फत दायरा बढाएर सम्पूर्ण पालिकावासीलाई यो सुविधा दिन थालेको हो।

​सम्झौतापत्रमा हल्दीबारी गाउँपालिकाका तर्फबाट अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन र स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला तथा नेपाल रेडक्रस सोसाइटीका तर्फबाट जिल्ला कोषाध्यक्ष ओमप्रकाश गौतम, कार्यालय प्रमुख हरिशरण खड्का र हल्दीबारी पालिका शाखा सदस्य नेत्रविक्रम विमलीले हस्ताक्षर गर्नुभएको छ।

Advertisement

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article